\
प्रहरीले तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भएका सञ्जय भण्डारीलाई हत्या आरोपमा आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरिएको जनाएको छ । तीनकुनेमा खुकरी प्रहारबाट चारजनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोलास्थित आफ्नो साथीको घर पुगेका थिए ।
राति मूलगेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउण्डभित्र छिरेको र त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
प्रहरीले सिसिटिभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको जनाएको छ ।
शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित चारजनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । घटना भएकै दिन प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो । तर, घटनामा उनको संलग्नता नदेखिएको प्रहरी बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।