स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, माग पुरा गर्ने आश्वासन दिएपछि, चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालको लागि फिर्ता लिएको छ । विगत ३८ औँ दिनदेखि १४ सूत्रीय माग राखेर २५ वटा संस्थागत समर्थनमा आन्दोलन गरिरहेको सङ्घर्ष समितिले स्वास्थ्य मन्त्रीको आग्रहमा आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता लिएको हो ।
स्वास्थ्य मन्त्री बस्नेतले आफैँ गएर माइतीघरमा अनशनरत आन्दोलनकारीलाई अनशन तोडाएका छन् । अनशन तोड्ने क्रममा मन्त्री बस्नेतले चिकित्सा क्षेत्रको समस्या समाधानको लागि शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै पनि सक्रिय भएको भन्दै समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गरे ।
‘यो समस्या समाधान गर्ने विषयमा सरकार लागि नै सकेको अवस्था भएको हुनाले यो कारबाहीको अवस्थामा नै अगाडि बढिसकेको छ त्यस कारणले तपाईँहरू अब धर्ना नै बस्न नपर्ने गरी समस्या समाधान हुन्छ,’ उनले भने ‘जति गर्न पर्ने हो, के के कारणले कमी कमजोरी देखिएको हो त्यसलाई सुधार गर्न र समग्र रूपमा नेपालमा डाक्टर र नर्सहरूको उत्पादन बढाउनका लागि स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै यसमा सक्रिय भएको हुनाले यो समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गर्दछु ।’
उनले यस क्षेत्रमा भएका राम्रा कुरालाई आत्मसाथ गर्ने र कमी भएको कुराहरूलाई सुधार गर्दै जानुपर्ने भन्दै यस्तो नगरे पाँच वर्षपछि देशमा डाक्टर र नर्सहरू पाउन गाह्रो हुने बताए । उनले प्रधानमन्त्रीले अमेरिकादेखि चीनसम्म आफ्नो कुरा राख्नुपर्ने समयमा यसरी धर्ना गर्नु राम्रो नभएको भन्दै प्रधानमन्त्री फर्किएपछि स्वास्थ्य समस्या समाधान गर्ने हिसाबले अगाडि बढ्ने बताए ।
‘मन्त्रिपरिषद्को बैठकमा चिकित्सा शिक्षा ऐन संशोधन गरेर नेपालमा स्वास्थ्यकर्मीहरू मुलुकलाई चाहिने जति यही उत्पादन गर्ने, सकिन्छ भने दक्ष जनशक्ति बाहिर पठाउन सकिन्छ भने त्यो पनि राष्ट्रको लागि राम्रै हो । प्रधानमन्त्रीले यो कुरा गम्भीर छ, यसबारेमा शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफै बसेर छलफल गरौँ भनेर भन्नु भयो जसअनुसार हामीले २ दिनसम्म छलफल गरेका थियौँ । यो संशोधन गरेर जाने हिसाबले नै प्रधानमन्त्रीको निर्देशन भइसकेको छ,’ उनले भने ।
चिकित्सा शिक्षा सरोकार तथा सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिए । उनले भने ‘तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । अहिले हामी कार्य समितिको बैठकमा छौँ औपचारिक जानकारी केही बेरमा गराउने छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।