नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युगपुरुषको उपनामले चिनिएजस्तै नेता गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले चिनिँदै आएको छ ।
बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम पनि हीराकाजी थियो । जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नातिलाई बडाकाजी परिवारको अत्यन्त महत्वपूर्ण निधि मानेर हीरा भन्ने गरिएको र बडाकाजी परिवारमा जन्मेकाले काजी भन्ने गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिन्थ्यो ।
उमेरले बिपी कोइरालाभन्दा १४ महिना मात्रै कान्छा गणेशमान १९७२ कात्तिक २४ गते जन्मिएका हुन् । त्यसैले पनि बिपी र गणेशमान समकालीन नेता र खुबीवान थिए । दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भउाे । त्यति मात्रै नभएर २०१५ सालको प्रथम आमनिर्वाचनमा दुई तिहाई मतसमेत ल्याउन सफल भएको थियो । बिपी र सिंहकै योगदानका कारण २०४८ सालको दोस्रो आमनिवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत ल्याउन सकेको थियो ।
काठमाडौंको रानीपोखरीस्थित दरवार स्कुलमा राणाहरुका छोराछोरीलाई मात्र पढ्ने अवसर पाउँदा ६ कक्षामा पढ्दै गर्दा एकै कक्षाका राणाको छोरालाई तँ भन्ने शब्द प्रयोग गरेकै कारण विद्यालयबाट निकालिएपछि राणा शासनविरुद्ध मनमा क्रान्तिको सुरुआत गरेको मानिन्छ । आठ वर्षको उमेरमै पिता गुमाएका सिंह आफ्नो २४ वर्षको उमेरमा १९९६ सालदेखि नेपाल प्रजा परिषद्को सदस्य भई राणाशासन विरोधी आन्दोलन र राजनीतिमा सक्रिय भएका थिए ।
विसं १९९७ मा राणाविरोधी गतिविधिमा सक्रिय भएका कारण उनलाई सर्वस्वसहित आजीवन कारावास राखिएपछि २००१ असार ७ गते १२ फिट अग्लो भद्रगोलको पर्खाल नाघेर भाग्न सफल भएका थिए । २०१५ सालको आमनिर्वाचनमा उनी कांग्रेसको मन्त्रिपरिषद्मा मन्त्री भए पनि सन्तुष्ट हुन नसकेपछि पदका लागि राजनीति नगर्ने र देशका लागि लागिरहने घोषणा गरेका थिए ।
उनकै नेतृत्वमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफलतापछि तत्कालीन राजा वीरेन्द्रले दरबारमै बोलाएर प्रधानमन्त्री बन्न प्रस्ताव राख्दा नमानेर कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेपछि उनको उचाइ अझै बढेको थियो । नेता सिंहको २०५४ असोज २ गते निधन भए पनि उनले देश र जनताप्रति गरेकाे योगदान युगौँयुग बाँचिरहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।