विप्लव समूहविरूद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस् : नेकपा माओवादी केन्द्र

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले सरकारले विप्लव समूहविरूद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै तत्काल उक्त प्रतिबन्ध खारेज गर्नुपर्ने उनले माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे केन्द्रले उक्त माग गरेको हो । 

पार्टी अध्यक्ष गोपाल किराँतीले भने, ‘विप्लवजीहरूले उठाउनुभएका मागहरू राजनीतिक हुन् । त्यसैले उहाँहरू पनि वार्ता तथा सहमतिमा आउनुपर्छ ।’

उनले सरकार सिके राउत र विप्लव समूहमध्ये एक पक्षसँग वार्ता तथा सहमति गर्ने र अर्को पक्षलाई दमन गर्ने रणनीतिमा रहेको उल्लेख गर्दै भने, ‘सिके राउतसँग सहमति भएकोले विप्लवविरूद्ध प्रतिबन्ध लगाइएको हो ।’

आफूले आफ्ना पार्टीका प्रदेशका नेता तथा कार्यकर्ताहरूसँग आजमात्रै पनि विप्लवविरूद्ध लगाइएको प्रतिबन्ध र विप्लवले हिजो गरेको नेपाल बन्दको बारेमा जिज्ञासा राखेको र अधिकांश नेता तथा कार्यकर्ताहरूले विप्लवलाई ठिक भनेको पनि किरातीले सुनाए । 

उनले भने,‘विप्लवलाई व्यापक समर्थन छ, तर भौतिक रूपमा भीडन्त गर्न तयार छैनन् ।’ 

उनले विप्लव नेतृत्वको नेकपाविरूद्ध ओली–प्रचण्ड सरकारको फाँसीवादी प्रतिबन्ध किमार्थ देश र जनताको हितमा हुन नसक्ने ठोकुवा गरेका छन् ।



उनले अघि थपे,‘त्यस प्रकारको प्रतिबन्ध खारेज गरि वार्ताद्वारा अग्रगामी समाधान खोज्न सरकारसमक्ष हाम्रो पार्टी आग्रह गर्दछ।’

विप्लव समूहरलाई आफूहरूले भाईचारा मानेको भएपनि सांगठनिक र राजनीतिक रूपमा फरक–फरक ठाउँमा भएको उनको तर्क छ । उनले भने,‘हामी एक ठाउँमा छैनौं ।’



उनले विप्लव समूहलाई पनि वार्ता तथा सहमतिमा आउनको लागि आफूहरूले आग्रह गरिरहेको पनि सुनाए । 

उनले भने,‘अहिले भीडन्त गरेर हुँदैन् । प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्छ । हामी सबै माओवाद विचार मान्नेहरू जुटौं भन्ने हाम्रो चाहना हो, हामी त्यहीअनुसार प्रयत्न गरिराखेका छौं ।’

अध्यक्ष किरातीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच नाममा मात्रै फरक रहेको र अरू कुनै पनि कुरामा भिन्नता नरहेको आरोप लगाए । 

उनले भने,‘ कांग्रेस र संसदवादी नेकपाबीच नाममा अन्तरबाहेक वस्तुगत चरित्रमा किञ्चित भिन्नता छैन, तर प्रतिपक्षमा हुनुको कारण कांग्रेसलाई उदार पुँजीवादी तथा सत्तापक्षमा रहेको नेकपालाई अनुदार पुँजीवादी भनेर महाधिवेशनबाट विश्लेषण गरिएको छ ।’


  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १५:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया