उपप्रधानमन्त्री पोखरेलको चेतावनी : सरकार चुप लागेर बस्दैन

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले बम हानेर मान्छे मार्ने, हतियार पड्काउने अनि मुलुकलाई तहसनहस पार्न कुचेष्टा गरे सरकार कुनै पनि हालतमा चुप लागेर बस्न नसक्ने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को काठमाडौं जिल्ला कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले लुटतन्त्र, अराजकता, आतंककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । 

‘देशमा आतंक मच्चाउने, राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने, राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन, राज्यको शरीरमा एक थोपा रगत रहुञ्जेल सरकार राष्ट्रियताको पक्षमा लडिरहनेछ,’ उनले भने । मन्त्री पोखरेलले चन्दा नदिँदा पार्टी तथा देशको नेतृत्वमा रहेका व्यक्ति र अन्य नागरिकलाई मार्ने योजना बनाउनेलाई त्यस्ता गतिविधि गर्न प्रतिबन्ध लगाइएको स्पष्ट पार्दै नागरिक अधिकारवादीलाई पनि एकोहोरो मात्र नबुझी वास्तविकता बुझ्न आग्रह गरे । 

उनले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतको व्यवहारप्रति सरकारले मूल्यांकन गरिरहेको बताउँदै राउतले राज्यको मूलधारमा आउने तथा संविधानलाई स्वीकार गरेअनुसार नै सरकार र राउतबीच सम्झौता गरिएको स्पष्ट गरे । 

नेकपाका नेता पोखरेलले पार्टी एकीकरण केवल देखाउन र सूचनापाटी राख्नका लागि मात्र नभई जनताको सारथि बन्न र मुलुकको समृद्धिका लागि भएको बताए । आगामी दिनमा नेकपा राजनीतिक र संवैधानिक घोषणानुसार विकास र समृद्धिको बाटामा जनतालाई साथमा लिई तीव्र गतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

पार्टीको तल्लो कमिटीको एकीकरणको गृहकार्य अध्यक्षद्वयले तयार पारिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले एकताको प्रक्रिया लगभग अन्तिम चरणमा रहेको बताए । 





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १६:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया