पौराणिक कालका ५ दिव्यधनुष

हिन्दु ग्रन्थहरुमा अनेकौँ चामत्कारिक धनुर्धरको चर्चा भेटिन्छ । पुराणहरुका अनुसार कलियुग सुरु हुनुअघि हरेक युगमा ठुल्ठूला युद्धहरु भए, जसमा धनुर्वाण मुख्य अस्त्रका रुपमा प्रयोग भएका छन् ।

मन्त्रोच्चारण तथा विशेष साधनाबाट प्राप्त हुने दिव्यास्त्रहरु त भइहाले, कतिपय धनुर्धरका धनुष आफैँमा दिव्य थिए, जसले जुनसुकै अस्त्रलाई दिव्यास्त्र बनाइदिन सक्थे । 

पिनाक 

पिनाक महादेवको धनुष हो । यसलाई शिवधनु पनि भनिन्छ । पिनाकलाई पौराणिक इतिहासकै सबैभन्दा शक्तिशाली धनुष मानिन्छ । पिनाक धनुको निसानाबाट कोही पनि बच्न सक्दैनथ्यो ।

महादेवले पिनाक धनुषको सहायताले एकै वाणले महाशक्तिशाली त्रिपुरासुर दैत्यको तीनै पुर ध्वस्त गरी उनीहरुको संहार गरेका थिए । 

पिनाक धनुको टंकारले नै बादल फाटिन्थ्यो, पर्वत हल्लिन लाग्थे, धर्तीमा भूकम्प आउँथ्यो । त्रिपुर दहनपछि शिवजीले यो धनुष देवराज इन्द्रलाई दिए । तर, महादेवबाहेक कसैमा यसको प्रयोग गर्ने साहस थिएन । इन्द्रबाट यो धनुष राजा जनकको वंशजमा आइपुग्यो । 



रामायणकालमा शिव–धनुष राजा जनकको दरबारमा सुरक्षित थियो । राजा जनकले यही धनुषमा ताँदो चढाउन सक्ने वीरसँग आफ्नी पुत्री सीताको विवाह गरिदिने सर्त राखेका थिए । स्वयंवर समारोहमा रामले ताँदो चढाउने क्रममा भाँचिएर तीन टुक्रा भएसँगै यो धनुषको अस्तित्व सकियो । 

कोदण्ड



कोदण्ड श्रीरामचन्द्रको धनुष हो । रामलाई त्रेतायुगका सर्वश्रेष्ठ धनुर्धर मानिन्छ ।

कोदण्डको अर्थ हुन्छ– ‘बाँसबाट निर्मित’ । कोदण्ड एक चामत्कारिक धनुष थियो, जसलाई जोकोहीले धारण गर्नै सक्दैनथ्यो । 

यो धनुषबाट छोडिएको वाण आफ्नो सिकारलाई कतै गए पनि छाड्दैनथ्यो । 

रामायणका अनुसार, एकपटक देवराज इन्द्रका पुत्र जयन्तले रामचन्द्रको शक्ति परीक्षण गर्न कागको रुप लिएर उनीसँगै रहेकी सीताजीको खुट्टामा ठुँगेर भाग्यो । 
सीताको खुट्टाबाट रगत बगेको देखेर रामचन्द्र रिसाए र कोदण्ड धनुष उठाई कागरुपी जयन्तलाई मार्न वाण छाडे । 

ज्यान बचाउन जयन्त आफ्ना बाबु इन्द्रकहाँ गयो, तर इन्द्रले श्रीरामको वाणसामु आफ्नो केही नलाग्ने भन्दै छोरालाई ब्रह्माको शरणमा जान भने । ब्रह्माले पनि उसलाई बचाउन नसक्ने बताए । 

वाणले निरन्तर लखेटिरह्यो । ब्रह्माण्डभर डुल्दा पनि कतै बच्ने ठाउँ नदेखेपछि ऊ आखिर रामकै शरणमा आउनुपर्यो । 

रामले कोदण्ड धनुषको प्रयोग अत्यन्त मुस्किल परिस्थितिमा मात्र गरे । रावणसँग युद्ध गर्न लंका जाने क्रममा जब समुद्र पार गर्ने कुनै उपाय देखेनन्, तब रामले समुद्र नै सुकाइदिने हेतुले आफ्नो कोदण्ड धनुषमा वाण चढाए । यो देखी आत्तिएका समुद्र तत्काल रामको शरणमा आए र उनलाई चार सय कोष लामो सेतु बाँध्ने उपाय बताइदिए । 

शारंग

शारंग भगवान् विष्णुको धनुष हो । द्वापरयुगमा यो धनुष विष्णुकै आठौँ अवतार श्रीकृष्णसँग थियो । सुदर्शन चक्रधारी श्रीकृष्ण कुशल धनुर्धर पनि थिए भन्ने लक्ष्मणाको स्वयंवरमा उनले देखाएको धनुर्वाण कलाले सिद्ध गर्छ ।

महाभारतमा वर्णन गरिएको द्रौपदीको स्वयंवरभन्दा पनि निकै कठिन प्रतियोगिता लक्ष्मणाको स्वयंवरमा राखिएको थियो, जसमा अर्जुन, कर्णजस्ता धुरन्धर धनुर्धरहरु सहभागी थिए ।

श्रीकृष्णले प्रतियोगिता जिते र लक्ष्मणासँग विवाह गरे । प्रतियोगितामा उनले आफ्नो दिव्य धनुष शारंगको प्रयोग गरेका थिए ।  

शारंगको अर्थ हुन्छ– रंगीन, सुन्दर । 

भनिन्छ, श्रीकृष्णको यो धनुष सिङबाट बनेको थियो । यद्यपि, केही कथनहरुमा यो धनुष कण्व ऋषिको तपस्यास्थलमा उम्रिएको विशेषखाले बाँसबाट शस्त्रविज्ञानका सर्वोच्च ज्ञाता विश्वकर्माले पिनाक र गाण्डीवसँगै शारंग धनुषको निर्माण गरेको उल्लेख छ । 

गाण्डीव

महाभारतकालका सर्वश्रेष्ठ धनुर्धर मानिएका अर्जुनको धनुष हो, गाण्डीव । अर्जुनको गाण्डीव धनुको टंकारले नै पूरै युद्धभूमि थर्कमान हुन्थ्यो । महाभारतको युद्धमा अर्जुनले यसै धनुषको सहायताले पितामह भीष्म, अंगराज कर्णजस्ता महान् योद्धालाई गिराएका थिए । 

पौराणिक कथनका अनुसार, कण्व ऋषि तपस्यामा यति लीन थिए कि उनको शरीरमा धमिराले गोलो लगाएको थियो । ऋषिको शरीरमाथि रहेको धमिराको गोलो र आसपासको माटोमा अति सुन्दर बाँस उम्रिएको थियो । 

जब कण्व ऋषिको तपस्या पूरा भयो, उनीसामु ब्रह्माजी प्रकट भए । ऋषिको शरीरमाथि उम्रिएको अद्भूत बाँस देखेर ब्रह्माजीले त्यसलाई सदुपयोग गर्ने हेतुले बाँस काटेर विश्वकर्मालाई दिए । शस्त्रविज्ञानका मर्मज्ञ विश्वकर्माले उक्त बाँसबाट तीन दिव्यधनुष बनाए– पिनाक, शारंग र गाण्डीव ।

यी तीनै धनुष ब्रह्माले शिवजीलाई समर्पण गरे । शिवजीले इन्द्रलाई दिए र इन्द्रले पिनाक परशुरामलाई दिए (जुन पछि राजा जनककहाँ पुग्यो) भने गाण्डीव वरुणदेवलाई दिए । वरुणदेवबाट यो धनुष अग्निदेव हुँदै अर्जुनसम्म पुग्यो । 

विजय 

महाभारतकालमा कैयौँ श्रेष्ठ योद्धाहरु थिए । तर, कर्णजस्तो कुशल योद्धा कोही थिएन । अर्जुन पनि धनुर्विद्यामा कर्णबराबर थिएनन् । कर्णमाथि परेका अनेक श्राप र श्रीकृष्णको बलियो साथले मात्र अर्जुनले उनलाई पराजित गर्न सकेका हुन् । 

कर्णको धनुष थियो, विजय । जब कर्ण विजय धनुषबाट वाण चलाउँथे, स्वयं श्रीकृष्ण र हनुमानले रक्षा गरिराखेको अर्जुनको रथ पनि पछि हट्थ्यो । 

विष्णुका छैटौँ अवतार परशुराम कर्णका गुरु थिए । उनले नै आफ्नो विजय धनुष कर्णलाई दिएका थिए । 

विजय यस्तो धनुष थियो, कुनै पनि अस्त्रशस्त्रले यो खण्डित हुँदैनथ्यो । साथै, यो धनुषमा चढाइएका हरेक वाण दिव्यास्त्र बन्थे । 
 

  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार २१:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया