नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै आइतबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले ‘ॐ’ शब्द नहटाउन सरकारलाई निर्देश गर्न र जवाफ माग गर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरे ।
सुरुदेखि नै हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएका पूर्वमन्त्री भण्डारीले अघिल्लो महासमिति बैठकमा बहुमत प्रतिनिधिले हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न हस्ताक्षर गरेर दिए पनि सुनुवाइ नभएको भन्दै देउवाको ध्यानाकर्षण गराए ।
महासमिति बैठकमा हिन्दू राष्ट्रको एजेन्डा पनि राख्न माग गर्दै भण्डारीले भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’
नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
उक्त रिटमाथि बिहीबार भएको सुनुवाइमा न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासले यस विषयमा एमिकस क्युरी झिकाउने आदेश दिएको थियो । यसअघि पनि यही रिटमा सर्वोच्चले नै अन्तरिम आदेश जारी गर्दै तत्काल ‘ॐ’ शब्द नहटाउन आदेश दिएको थियो ।
यस विषयमा सरकारको निर्णयविरुद्ध मुद्दा हाल्नेमध्येका एक अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जालमार्फत यसमा संलग्नहरुको नाम सार्वजनिक गरेका छन् । उनले यसमा १३ जना संलग्न रहेको जानकारी दिएका छन् ।
नेपालका अनुसार तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मा, तत्कालीन शिक्षा सचिव किशोर थापा, शिक्षा मन्त्रालयका तत्कालीन सहसचिवद्वय डा. लवदेव अवस्थी र दिवाकर ढुंगेल, तत्कालीन उपसचिवद्वय विदुर गिरी र कमलप्रसाद कर्माचार्य दोषी रहेको दाबी गरेका छन् ।
त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक खगराज बराल, उपनिर्देशक गणेश भट्टराई, सम्पादन तथा प्रकाशन शाखाका अधिकृत हरिप्रसाद निरौला पनि यसमा संलग्न रहेको बताइएके छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका अनिवार्य नेपाली विषय समितिका अध्यक्ष देवीप्रसाद गौतम, कार्यकारी निर्देशक केशवकुमार श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति गंगाप्रसाद उप्रेती र सम्पादन प्रकाशन शैली २०६३ का संयोजक रहेका प्रा.डा. हेमांगराज अधिकारीलाई दोषी दाबी गरेका छन् ।
पूर्वकुलपति उप्रेती भन्छन्– कपोलकल्पित हल्ला
यसैबीच नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन कुलपति गंगाप्रसाद उप्रेतीले शब्दकोशबाट ॐ शब्द हटाइएको भनेर कपोलकल्पित हल्ला फैलिएको बताएका छन् । तत्कालीन कुलपति र नेपाली भाषा विभाग प्रमुखको हैसियतमा उनले समाजिक सञ्जालमार्फत त्यसबारे सत्यतथ्य सार्वजनिक गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले संस्थागत रूपमा पहिलोपल्ट २०४० सालमा नेपाली बृहत् शब्दकोश प्रकाशित गरेको थियो । त्यसयता ०७७ सम्म विभिन्न संस्करण गर्दै यसका दसौॅ संस्करण र पुनर्मुद्रण गरी एघारपल्ट छापेको छ। २०७९ सालमा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश प्रकाशित गरी यसलाई मोबाइल एप्समा समेत राखिएको उप्रेतीको भनाइ छ ।
‘यसरी प्रतिष्ठानबाट प्रकाशित सबै संस्करण र कोशमा ओम प्रविष्टि यथावत् छ, हटाइएको छैन,’ उनले लेखेका छन्, ‘पछिल्लोपल्ट प्रकाशित शब्दकोशमा त प्रतिष्ठानले बनाएको प्रज्ञा मन्जरी फनन्टमा अ,उ,मको संयुक्त उच्चारणबाट उत्पन्न वैदिक ध्वनि ओमलाई अक्षरकै रूपमा उतारी अर्थसहित पाना २७० मा हुबहु दिइएको छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।