नेकपा एमालेको बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन हुँदै छ। काठमाडौंमा जारी नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन लागेको हो ।
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि पाँचजनाले उम्मेदवारी दिएकामा एकजनाले फिर्ता लिएका छन् । अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठ चुनावी मैदानमा छन् । यसअघि उम्मेदवारी दर्ता गराएका कृष्णभक्त पोखरेलले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै, उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला गरी पाँचजनाको उम्मेदवारी परेको छ । यस्तै, सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र रमेश महर्जनले उम्मेदवारी दिएका हुन् ।
उक्त अधिवेशनमा उम्मेद्वारी दिएकाहरुले आफ्नो उम्मेद्वारी राजनीतिक सुधारका लागि भएको जिकिर गरेका छन् ।
ललितपुरका निवर्तमान प्रतिनिधिसभा सदस्य एवं बागमती प्रदेश संगठन कमिटीको सचिव पदका उम्मेदवार नवराज सिलवालले राजनीतिलाई सबलीकरण गरेर अपराधीकरण हटाउन योगदान गर्ने उद्देश्यले उम्मेद्वारी दिएको बताएका छन् ।
यस्तै, ललितपुर क्षेत्र नं. १ खुल्ला तर्फको उम्मेदवार मिठाराम केसीले जनताको भाग्य र भविष्य कोर्नको लागि एउटा अवसरको रुपमा अधिवेशनलाई लिएको बताए ।
उक्त अधिवेशनमा बागमती प्रदेश कमिटिको सदस्य अशोक चौलागाईंले देशमा गरिबी हटाउने पार्टीको उद्देश्यलाई पूरा गर्न अगाडि बढ्ने भन्दै प्रदेश अधिवेशनले यसलाई अझ प्रभावकारी बनाउने तर्क गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।