एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । १ सय ५ स्वर्ण, ६३ रजत र ३२ कास्य पदकसहित आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको छ ।
गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा उक्लन सफल भएको छ । जापानले २७ स्वर्ण, ३५ रजत र ३७ वटा कास्य पदक जितेको छ भने तेस्रो स्थानमा खुम्चिएको दक्षिण कोरियाले २६ स्वर्ण, २८ रजत र ४८ कास्य गरी एक सय दुई पदक जितेको छ ।
बिहीबारको तुलनामा भारतले शुक्रबार केही प्रगति गरेको छ । शुक्रबार चौथो स्थानमा उक्लन सफल भारतीय खेलाडीले देशलाई ०८ स्वर्ण, १२ रजत र १३ वटा कास्य पदक दिलाएर एशियाडमा राष्ट्रको गरिमा बढाएका छन् ।
एसियाडको पछिल्लो पदक तालिकाअनुसार पाँचौं स्थानमा रहेको थाइल्याण्डले ८ स्वर्ण, ३ रजत र ९ कास्य जितेको छ भने ७ स्वर्ण, १० रजत र १५ कास्य जितेर बिहीबार चौथो स्थानमा रहेको उज्वेकिस्तान शुक्रबार छैटौँ स्थानमा झरेको छ ।
पाँच स्वर्ण, १३ रजत र १८ वटा कास्य पदक हासिल गरेर हङकङ सातौँ स्थानमा छ भने ५ स्वर्ण, ६ रजत र ९ कास्यमा कब्जा जमाएर चाइनिज ताइपेइ आठौँ स्थानमा समेटिएको छ ।
त्यसैगरी तीन स्वर्ण, १० रजत र त्यति नै कास्य जितेर इरान नवौँ र ३ स्वर्ण, ६ रजत र ४ कास्य पदक प्राप्त गरी प्रजातान्त्रिक जनगणतन्त्र कोरिया दसौँ स्थानमा रहेको छ । नेपालले भने अहिलेसम्म पदकविहीन छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।