जंगली जनावरको संख्या दिनहुँ बढ्दै गएको छ । संख्या बढेसँगै संरक्षणको चुनौती पनि थपिँदै गएका छन् । नेपालमा जंगली जनावरको चोरी, निकासी, पैठारी तथा सिकार गर्न नपाइने प्रावधान छ । जसबाट वनयजन्तुको संरक्षण र प्रवर्द्धनमा ठूलै टेवा पुगेको छ । तर, कृषिकर्ममा निर्भर किसानले भने जंगली जनावरका कारण सास्ती खेपिरहेका छन् ।
वर्षभरी खाने अन्नबाली जंगली जनावरले बोटैमा सखाप पारेपछि जीविका चलाउन समस्या भइरहेको छ । बाँदर, ढेडु, मृग, दुम्सी, बँदेल, नीलगाईजस्ता जंगली जनावरले कृषिमा निर्भर किसानलाई हैरान पारेको हो । जसमध्ये बाँदर र नीलगाईले किसानलाई बढी सास्ती दिइरहेका छन् । जंगली जनावरकै कारण कतिपय वस्तीकै उठीबास लागेको छ ।
अन्नबालीको बिउ छरेर थन्काउन्जेलसम्म जंगली जनावरको गोठालो लाग्नुपर्ने अवस्था छ । खेतबारीमा लगाएको धान, मकै, कोदो, फापर, गहुँ, जौ, मस्याम, धान, सिमीजस्ता अन्नबाली जंगली जनावरबाट बचाउन नसकेर आयातित खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता छ । गाउँवस्तीका उब्जनीयोग्य जमिन बर्सेनि सयौं हेक्टर बाझिँदै गएका छन् ।
दशक अघिसम्म लहलह अन्न फल्ने खेत अहिले झाँडीले छोपिरहेको छ । तर अब किसानले नील गाई र बाँदरबाट बाली जोगाउन कुनै चिन्ता लिनु पर्दैन । किसानको अन्नबालीमा नोक्सान पुर्याउँदै आएको नीलगाई र बाँदर धपाउने उत्तम उपाय नेपालमै पहिलोपटक पत्ता लागेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसन्धानकर्ता वैज्ञानिक डा. उज्ज्वलकुमार सिंह कुशवाहाले खेतबारीमा जङ्गली जनावरहरू नीलगाई र बाँदरबाट सुरक्षा प्रदान गर्ने नयाँ रसायन पत्ता लगाएका हुन् ।
उनका अनुसार तीन वर्षको अनुसन्धानबाट नीलगाई र बाँदर धपाउन एउटा विशेष प्रकारको रसायन ‘ट्राई मेथाइल अमिन’ पत्ता लगाइएको हो । उक्त रसायनबाट नीलगाई र बाँदर धपाउन सकिन्छ । प्रस्तुत छ, यस उपायको विषयमा फरकधारकर्मी रेखा श्रेष्ठले डा. कुशवाहासँग गरेको कुराकानीको अंश :
तपाईँले जंगली जनावरबाट खेतबारी जोगाउन पत्ता लगाएको रसायन के हो ?
यो रसायनलाई हालसम्म झारनाशक विषादी बनाउन, विभिन्न किसिमका रंगाउने पदार्थ बनाउन, कोलिन रसायन उत्पादन गर्न र बोटबिरुवा विकासका लागि विभिन्न हर्मोन बनाउन प्रयोग गरिँदै आएको छ । ‘ट्राई मेथाइल अमिन’ एउटा अत्यन्तै शक्तिशाली गन्धयुक्त पदार्थ हो ।
यसको गन्ध कुहेको माछा र अमोनिया ग्यासझैँ कडा हुने गर्छ । असुहाउँदो तीव्र गन्धका कारण नीलगाई र बाँदरलगायतका जङ्गली जनावरहरू दिगभ्रमित भई बालीनाली छाडेर भाग्ने गर्छ र यसले बाली सुरक्षित हुन्छ । ट्राई मेथाइल अमिनको प्रयोगले करिब ९० प्रतिशत केसमा नीलगाई भागेको तथा बाँदर भगाउन ९५ प्रतिशत प्रभावकारी पाइएको छ ।
साथै, जङ्गली बँदेल भगाउन पनि करिब ५० प्रतिशत प्रभावकारी देखिएको छ । यो रसायनलाई केही दिनको अन्तरालमा तीन–चार चोटिको प्रयोगले नीलगाई र बाँदरले लामो समयसम्म खेतबारीमा नोक्सान नगरेको पनि देखिएको छ । केही किसानले उक्त रसायन प्रयोग गर्दा हरिणले पनि बाली नोक्सान नगरेको बताएका छन् । यो रसायनको प्रयोगले अरू जङ्गली जनावरहरूबाट पनि खेतबारीलाई सुरक्षित बनाउन सकिन्छ । नीलगाई, बाँदर र बँदेलबाहेक अरू जीवजन्तु वा जनावरमा यसको परीक्षण भने गरिएको छैन ।
यो रसायन किसानले कसरी प्रयोग गर्न सक्छन् ?
‘ट्राई मेथाइल अमिन’ को आधा लिटरको बोतल लिने अनि ३० देखि ४० एमएल एउटा सानो बोतलमा राख्ने । सानो बोतलमा राख्नेबित्तिकै चाँडो बिर्को लगाउनु पर्छ । नभए ग्यास सबै उड्छ । बिर्को बन्द गरेको सानो बोतल लिने र बाँदर, नीलगाईले क्षति गर्ने बालीको बीच भागमा २ इन्च जति सानो खाल्डो खन्ने र थोरै बोतल देखिने गरी पुर्ने ।
त्यसपछि सानो काँटी (किला) ले बिर्कोमा प्वाल पार्ने । जसले गर्दा बिस्तारै ग्यास निस्केर हावामा फैलिन्छ । हावामा जहाँसम्म ग्यास फैलन्छ, सबै बालीलाई रक्षा गर्छ ।परीक्षणमा प्राप्त नतिजाअनुसार १५ मिलिलिटरजति रसायन एक ठाउँमा राख्दा करिब दुई रोपनी वर्गाकार खेतलाई १२ देखि १४ दिनसम्म सुरक्षा प्रदान गर्छ ।
रसायन किसानको पहुँचमा पुर्याउन सकिन्छ त ?
यो रसायन नेपालमा पाइँदैन । विदेशबाट नै मगाउनु पर्ने हुन्छ । विदेशमा सस्तै मूल्यमा पाइन्छ । प्रति लिटर लगभग अढाई सयदेखि ३ सय मूल्यमा पाइन्छ । तर, यो रसायन नेपालमा दर्ता भएको छैन । त्यसैले पाउन नसकिने हुनाले जति मात्रामा किसानसामु पुग्नुपर्ने थियो, त्यो पुगेको छैन ।
रसायन दर्ता नहुँदा धेरै मात्रामा व्यवसायी, किसानले ल्याउन तथा बिक्री वितरण गर्न पाउँदैनन् । यही दर्ता हुने हो भने यो रसायन व्यापक प्रयोग हुन सक्छ । सरकारको उदासीनताका कारण पीडित किसानमाझ यो रसायन व्यापक प्रयोग हुन सकेको छैन ।
कुन–कुन बालीमा यो रसायन प्रयोग गर्न सकिन्छ ?
यो जुनसुकै बालीमा पनि राख्न सकिन्छ । विभिन्न बालीहरू जस्तैः फूलकोभी, बन्दा, आलु, सखरखण्ड, गहुँ, धनियाँ, प्याज, खुर्सानी, भन्टा, मकै, हरियो मटर, उखु, तोरी, रहर र भिण्डीमा परीक्षण भएको छ । सबैमा परीक्षण सफल भयो । त्यसैले किसानले पनि जुनसुकै बालीमा प्रयोग गर्न सक्छन् । तर, बालीअनुसार केमिकलको प्रभाव फरक पर्न जान्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।