logo-img

एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगिता : पाटन क्याम्पस क्वार्टरफाइनलमा

पाटन संयुक्त क्याम्पस लगातार तेस्रो खेल जित्दै एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । मूलपानीको तल्लो क्रिकेट मैदानमा पाटनले सोमबार काठमाडौं स्कुल अफ ललाई ५ विकेटले पराजित गर्‍यो ।

वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेपछि ब्याटिङको निम्तो पाएको काठमाडौं पूरा ओभर खेली ५७ रनमा अलआउट भयो ।

निर्मल लुइटेलले ३ तथा प्रज्जवल श्रेष्ठ र नितिन पाण्डेले २–२ विकेट लिदैं काठमाडौंलाई धरासायी पारे । प्लेयर अफ द म्याच निर्मलले ३ ओभरमा ९ रन खर्चेका थिए । काठमाडौंबाट विमल आचार्यले १२, आर्यन थापाले ८ र विवेक अधिकारीले ६ रन बनाए ।



पाटनले ९.२ ओभरमै लक्ष्य पूरा गरेको थियो । विकाश पन्थीले २६ बलमा २५ र विशाल पाण्डेले ११ बलमा १२ रन बनाए । काठमाडौंका विमल आचार्यले २ तथा कल्याण पराजुली र अविरल पौडेलले १ विकेट लिए । काठमाडौंको हारपछि समूह ‘सी’ बाट उपविजेताको हैसियतमा रत्न राज्य क्याम्पस अन्तिम आठमा पुगेको छ । रत्नराज्यले ३ मध्येको दुई खेल जितेको थियो । काठमाडौंले एक खेलमा मात्र विजय हात पार्न सक्यो ।

एपेक्स कलेजको आयोजनामा हब इन्टरनेसनलको प्रस्तुति रहेको प्रतियोगिताको एउटा समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्ने प्रावधान रहेको छ । ब्लुबर्ड कलेज र शिक्षान्तर कलेजबीचको खेल वर्षाका कारण रद्द हुन पुगेको छ ।

‘प्रतिभा विकास र खेलकुदका लागि एक सञ्चार अधिवक्ता’ मूल नारा रहेको हब इन्टरनेशनल एजुकेसन यस प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।  



हब इन्टरनेशनल एजुकेसनका अध्यक्ष उद्धव खड्काले यस प्रतियोगिताको हिस्सेदार हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । उनले विद्यार्थीको अध्ययनसँगै उनीहरूलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउँदा सकारात्मक ऊर्जा दिनुका साथै क्रिकेटमा दक्ष खेलाडी उत्पादनमा पनि टेवा पुग्ने बताए । 

करिब दुई दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको हब इन्टरनेशनल एजुकेसनले सामाजिक उत्तरदायित्त्वअन्तर्गत खेलकुद, शिक्षा, रक्तदानलगायत विभिन्न सामाजिक कार्यमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । 

  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया