किन अलमलमा परिरहेकाे छ स्ववियु चुनाव ?
फरकधार / ३ चैत, २०७५

काठमाडौं– वर्षैंदेखि त्रिविमा स्वतन्त्र विद्यार्थी युनियको चुनावबारे अन्योल छ । माओवादी द्वन्द्व र त्यसपछिका राजनीतिक उथलपुथलको चपेटामा पर्नुअघि दुई–दुई वर्षमा फागुन १४ को आसपासमा हुँदै आएको स्ववियु चुनावले २०६२–०६३ को परिवर्तनपछि नियमितता पाउने आशा थियो । तर, त्यसो भएन ।

२०६५ सालमा जसोतसो चुनाव गरेको त्रिविले त्यसयता पूर्ण स्ववियु चुनाव गर्न सकेको छैन । दुई वर्षअघि त्रिविले देशभरका आधाउधी क्याम्पसमा चुनाव त गर्यो, तर कीर्तिपुरस्थित केन्द्रीय क्याम्पससहित त्रिचन्द्र, शंकरदेव, अस्कल, महेन्द्ररत्नलगायत ठूला आंगिक क्याम्पसमा नै चुनाव हुन सकेन । 

यस वर्ष त्रिविले फागुन १५ गतेभित्र स्ववियु चुनाव गर्ने घोषणा गर्यो, तर चुनाव भने गरेन । परीक्षालाई मुख्य कारण देखाएर त्रिविले चुनावको भाका वैशाखलाई सार्यो । शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले २०७६ वैशाखमा चुनाव गर्नेगरी छिटै मिति तोकिने सार्वजनिक अभिव्यक्ति दिएकी छिन् । तर, त्रिविले चाहेर पनि राजनीतिक भागबन्डा नमिल्दासम्म चुनाव हुने छाँटकाँट देखिन्न । 

विद्यार्थी नेताहरू, त्रिवि र दलीय भागबन्डाका कारण अन्योलमा परेको स्ववियु चुनाव वैशाखमा हुने कुनै ग्यारेन्टी छैन । दलहरुको स्वार्थ बाझिँदा त्रिवि प्रशासनको हठमा चुनाव भइहाले पनि त्यो २०७३ फागुनको चुनावजस्तै नबन्ला भन्न सकिन्न । 

पूर्वअनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयका कारण स्ववियु चुनाव हुन नसकेको बताउँछन् । ‘स्ववियु चुनाव नेवि संघको कारण भएन । विश्वविद्यालयले पनि स्ववियु चुनाव गराउन चाहेन,’ उनी भन्छन्, ‘स्ववियु चुनावको मुखमै नेवि संघ विघटन भयो । नेवि संघका अध्यक्षले राजीनामा दिनुभयो । नेवि संघको नेतृत्व नटुंगिएको हुनाले विश्वविद्यालयले पनि स्ववियु चुनाव गराउन तदारुकता देखाएन, चुनाव समिति नै बनाएन ।’ 

विश्वविद्यालयका पदाधिकारीहरु कुनै न कुनै राजनीतिक भागबन्डामा आएकाले विश्वविद्यालयको नियमित क्यनलेन्डर मेन्टेन गर्नेभन्दा राजनीतिक पार्टीको क्यालेन्डरलाई फलोअप गर्ने गरेको उनको आरोप छ । उनी भन्छन्, ‘भिसी पनि नेपाली कांग्रेस समर्थित नै भएको हुनाले उहाँले नेपाली कांग्रेस र नेवि संघको दयनीय अवस्थाका बाबजुद चुनाव गराउन तत्परता देखाउनुभएन ।’ 

रेक्टर डा. सुधा त्रिपाठीले चुनाव समिति बनाउँदा स्ववियु चुनावका लागि विलम्ब भइसकेको अध्यक्ष तामाङ बताउँछन् । विद्यार्थीको परीक्षालगायत नियमित रुटिनहरू जे थिए, त्यसलाई असर नपुर्याऊँ र नेवि संघ पनि विघटन भएको अवस्थामा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको नयाँ मिति खोजौँ भन्नेमा आफ्नो संगठन पनि सहमत भएको उनको भनाइ छ । 

यथाशक्य चाँडो स्ववियु चुनाव गर्नुपर्छ भन्दा विश्वविद्यालयले वैशाखमा स्ववियु चुनाव गर्ने आश्वासन दिएको अध्यक्ष तामाङ बताउँछन् । 

स्ववियु चुनावमा आफ्नो संगठनको तयारीबारे फरकधारको जिज्ञासामा उनी भन्छन्, ‘हाम्रो तयारी राम्रो छ ।’ 

फरकधारसँगको कुराकानीमा चुनाव र संगठनबीचको एकता सँगसँगै लैजाने बताएका अध्यक्ष तामाङले सांगठनिक एकता चाँडै टुंगिने दाबी गरेका छन् ।

चुनावअघि एकता नटुंगिए स्ववियु चुनाव कार्यदल बनाएर अघि बढ्ने उनको योजना छ । भन्छन्, ‘हाम्रो एकता सम्भवतः चाँडै टुंगिन्छ । टुंगिएन भने पनि स्ववियु चुनाव परिचालन समिति बनाएर चुनावमा जान्छौँ । संगठनको नाम एउटै हुन्छ ।’ 

आफूहरूका कारण स्ववियु नरोकिने र चुनावमा पूर्वअनेरास्ववियु र पूर्वअनेरास्ववियु क्रन्तिकारीको एउटै प्यानल बन्ने उनको दाबी छ । ‘हाम्रो एउटै प्यानल हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो एकताको कारणले स्ववियु चुनाव रोकिँदैन । जुनसुकै मूल्यमा पनि चुनावमा जान्छौँ । संगठनात्मक रूपले हामी तयारीमै छौँ ।’ 

विघटित नेपाल विद्यार्थी संघ (नेवि संघ) का अध्यक्ष नैनसिंह महरको भनाइ भने बेग्लै छ । नेवि संघका कारण नभई सत्तारुढ पार्टीकै संगठनका कारण स्ववियु चुनाव हुन नसकेको महर दाबी गर्छन् । ‘हाम्रो कारणले होइन,’ उनी भन्छन्, ‘अखिलहरूको एकीकरण भएको छैन । उनीहरूको कसलाई टिकट दिने, कसलाई नदिने भन्नेमा विवाद छ । अखिलहरूको अन्तरद्वन्द्वले चुनाव नभएको हो ।’ 

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका विद्यार्थी संगठनबीच कुरा नमिलेसम्म चुनाव हुन नसक्ने उनको दाबी छ । भन्छन्, ‘जहिलेसम्म दुई अखिल मिल्दैन, त्यहिलेसम्म चुनाव हुँदैन ।’ 

फरकधारसँगको कुराकानीमा विघटित नेवि संघ अध्यक्ष महरले सतारुढ दलका विद्यार्थी संगठनतर्फ लक्षित गर्दै इतिहासमा उनीहरूको जस्तो अनपपुलर सरकार कहिल्यै नभएको बताएका छन् । ‘इतिहासमा उनीहरूको जस्तो अनपपुलर सरकार कहिल्यै पनि भएको छैन । सरकार पपुलर भएको भए गराउँथे,’ सरकार अनपपुलर भएका कारण स्ववियुको निर्वाचन नभएको टिप्पणी गर्दै उनी भन्छन्, ‘सरकार गिरेको छ । जहिलेसम्म दुई अखिलबीच एकता हुँदैन, सरकारले म बलियो भएँ भन्ने ठान्दैन, तबसम्म चुनाव हुँदैन ।’ 

आफूहरूले स्ववियु चुनाव गराउन निरन्तर माग गरेको तर सरकारले गराउन नसकेको महर बताउँछन् । ‘विश्वविद्यालयको कुलपति त प्रधानमन्त्री हो नि, होइन र ?’ महर कड्किन्छन्, ‘गराउनुपर्यो नि त ! हामीले चुनाव हुनुपर्यो भनेर रेगुलर माग राखेका छौँ, तर भइरहेको छैन ।’  

नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमको भने नेकपा निकट विद्यार्थी संगठन र नेवि संघका कारण स्ववियु चुनाव हुन नसकेको आरोप छ । चुनावमा पार्टी नेताको प्रत्यक्ष हस्तक्षेप रहेको बताएउँदै उनी भन्छन्, ‘विश्वविद्यालयमा जुन दलीय भागबन्डा छ । त्यसले सबैतिर असर पारेको छ ।’ 

‘भिसी कांग्रेको, रजिस्ट्रार एउटा पार्टीको, रेक्टर अर्को पार्टीका छन् । त्रिवि पदाधिकारीको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले खुल्लमखुला अहिले चुनाव नगर्न भनेर अभिव्यक्ति दिए,’ अध्यक्ष गौतम थप्छन्, ‘यस्तो देख्दाखेरि नेपाली कांग्रेसको खुल्लमखुला हस्तक्षेप देखिन्छ । विद्यार्थी चुनावमा पार्टीको हस्तक्षेप ठीक देखिँदैन ।’  

आफूसँगको कुराकानीमा त्रिवि उपकुलपतिले कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले जे भन्नुहुन्छ, त्यही गर्न आफू तयार रहेको बताएको भन्दै अध्यक्ष गौतम सत्तामा रहेका संगठन र पार्टीहरूले चुनाव हुनुपर्छ भनेर बाहिर ‘ड्रामा’ गरे पनि उनीहरूले चुनाव नचाहेको यी घटनाहरूबाट पुष्टि हुने बताउँछन् । आफूहरू जुनसुकै बेला चुनाव भए पनि भाग लिने उनको भनाइ छ । 

राजनीतिक विश्लेषक कृष्ण पोखरेलको टिप्पणी 

विद्यार्थी राजनीति बिग्रँदै गएको देखिन्छ । जुनबेला राजनीतिक दलहरू प्रतिबन्धित थिए, त्यतिबेला प्रतिबन्धित पक्षहरूको राजनीति गर्ने मुख्य आधार नै विद्यार्थी नेता थिए । त्यो बेला राजनीतिक दलहरू विद्यार्थीका नजिक पुग्थे । टचमा रहन्थे । राजनीतिक शक्तिहरूमाभन्दा विद्यार्थीमाथि कम दमन हुन्थ्यो । चाहे कम्युनिस्टहरू हुन्, चाहे कांग्रेसहरू । 

शैक्षिक एजेन्डामा बाहेक राजनीतिक एजेन्डाहरूलाई पनि जनसमक्ष ल्याउने, सरकारको विरोधमा उत्रिने मुख्य साधन नै विद्यार्थी आन्दोलन थियो । पञ्चायत कालमा विद्यार्थी नै स्थायी प्रतिपक्ष थियो सरकारको । राजनीतिक दल विद्यार्थीका माध्यमबाट आफ्ना कुराहरू बाहिर ल्याउँथे । त्यतिबेला विद्यार्थी संगठनहरूको एउटा गरिमा थियो । विद्यार्थी राजनीतिमा लागेकाहरू नै पछि गएर राष्ट्रिय राजनीतिका पनि नेता भए । एउटा फेज थियो त्यो । 

२०४६ सालमा आन्दोलन भयो । विद्यार्थी नेताहरू परिवर्तन भए । उनीहरू पार्टीको वरिपरि घुम्नुपर्ने अवस्था आयो । ‘अपोेजिट’ अवस्था आयो । विद्यार्थी राजनीति गरेर, विद्यार्थीका एजेन्डालाई उठाएर स्थापित हुनेभन्दा नेताको नजिक हुन थाले । जो विद्यार्थी नेता–नेताको वरिपरि छ, उसले नै अवसर पाउन थाल्यो । कुसंस्कारको विकास भयो । 

स्ववियु विस्तारै ‘करप्सन’को ‘टे«डिङ ग्राउन्ड’जस्तो भयो । विद्यार्थीलाई क्याम्पसले भर्ना गर्न मानेन र विद्यार्थी संगठनहरूले भर्ना गराइदिन्छौँ भनेर सिफारिस दस्तुर लिने, क्याम्पसमा हुने निर्माण विकासमा ठेक्कापट्टासँग जोडिने यी गतिविधिहरूमा विद्यार्थी संगठनहरू ‘कन्सल्टटे«न्ड’ हुन थाले । यसरी आर्थिक रूपले पनि उनीहरूमा क्षयीकरण सुरु भयो । 

विश्वविद्यालयको उत्थान, शैक्षिक उत्थान, आजका संसारमा आएका चुनौतीमा, नयाँ–नयाँ ज्ञानका विषयमा ‘कन्सल्टटे«न्ड’ भएर शैक्षिक सुधारका लागि विद्यार्थीका हकहित र शैक्षिक सुधारका यिनीहरू ‘इन्भल्व’ नै भएनन् । 

२०६२–६३ को आन्दोलनका बेला राजनीतिक दलहरूलाई फेरि विद्यार्थी नेताहरू चाहियो ।  यसबेला विद्यार्थीहरूको गतिविधिमा केही मात्रामा सुधार आयो । उचाइ लिएको देखिन्छ, तर सधैँ उस्तै अवस्था रहेन । 

अहिले शिक्षाको सुधार जुन विश्वविद्यालयमा बसेर राजनीति गरेको छ, त्यसको शैक्षिक सुधार गर्ने, शैक्षिक नीतिगत सुधार हुने एजेन्डाहरू लिएर अगाडि बढ्ने र विद्यार्थीमाझ स्थापित हुने स्थिति नै रहेन । 

विश्वविद्यालयको नेतृत्वमा पनि राजनीति हाबी भयो । विद्यार्थीहरू नेताको नजिक भए । खुला राजनीति आएपछि  विद्यार्थी नेतालाई विद्यार्थी राजनीतिमा अवसर भएन । उनीहरू अवसर पार्टीमा भयो । पार्टीमा अवसर प्राप्त गर्नका लागि विद्यार्थीमा कति स्थापित भएको छ, त्यो काउन्ट गरिँदैन । नेतासँग नजिक वा टाढाका आधारमा राजनीतिक कद बढ्ने वा घट्ने हुन्छ । 

अहिले कति उमेरकाले विद्यार्थी राजनीति गर्ने ? भन्ने विषय नै विवादमा छ । चुनाव प्रतिष्ठाको विषय भयो भने संगठनलाई दबाब दिन सजिलो भयो । संवैधानिक स्ववियु बन्दा कसको अवस्था के छ भन्ने देखिने भयो । प्रतिष्ठाको विषय कहाँनेर भयो भयो, कुनबेला चुनाव हुँदा कसले जित्छ ? 

चुनाव पहिलाजस्तो फेयर छैन । जसले बढी भोट ल्यायो, उसले जित्नेभन्दा पनि धाँधली गरेर चुनाव जित्छन् । अहिले चुनावको परिपाटी फेरिएको छ । पद्धति फेरिएको छ । अहिले चुनाव गर्ने सहमति भए पनि के देखिन्छ भने विद्यार्थी संगठनहरूको हैससियत देखिन्छ । आम चुनावमा राजनतिक पार्टीको हैसियत देखिएजस्तै स्ववियुमा विद्यार्थी नेताको हैसियत देखिन्छ । कतिखेर चुनाव हुँदा लाभ हुन्छ कतिखेर गर्दा हानि हुन्छ, यी कुराबाट पनि चुनावमा भाग लिने, नलिने, प्रक्रियालाई अवरुद्ध गर्ने कुरा जोडिन थाल्यो । 

अहिले नेवि संघकै अवस्था हेर्नुस् न ! चुनावमा जानका लागि त नेवि संघ संगठन नै छैन । त्यो अवस्थामा चुनावमा जानका लागि, बचेकुचेको संगठन पनि बाहिर आन्दोलनमा भन्दा पनि विद्यार्थीका बीचमा स्थापित हुनुपर्यो । 

अहिले आफ्नो संगठन कमजोर भएको अवस्थामा चुनावमा गइयो भने आफ्नो कमजोरी छताछुल्ल भएर बाहिर आउँछ भन्ने कारणले विद्यार्थी संगठनले कहिले कुनले त कहिले कुनले चुनावलाई पनि पर धकेलिदियो । 

आफ्नो अनुकूलताको आँकलन गरेर अनुकूलताको अवस्थामा, विद्यार्थी संगठनहरूको बीचमा कम्परमाइज भएर ल अब चुनावमा जाने भन्ने र विद्यार्थी राजनीति र राष्ट्रिय राजनीतिमा उनीहरूको अवस्था कस्तो हुने हो भन्ने कुरा यसले निर्धारण गर्ने हुनाले विद्यार्थी युनियनको चुनाव समयमा नभएको देखिन्छ । 
 

  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार २१:५३:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया