logo-img

मिथिलाञ्चलमा यसरी मनाइँदै छ जितिया पर्व [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि धार्मिक विधि पूर्वक सुरु भएको हो ।व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसै गरी भोली बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल रही शनिबार व्रत सम्पन्न गर्ने छन् । यस पर्वमा व्रतालुले पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । 

व्रतको पहिलो दिन आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । प्रत्येक महिलाले अनिवार्यरुपमा आज कोदो र माछा खाने गर्छन् भने प्रत्येक घरमा आजका दिन कोदोको रोटी र माछा पाक्छ ।

त्यसै गरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ ।

पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । फेरी एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिन ।



राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।  



  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया