भूकम्प पीडितको अवस्था अवलोकनका लागि बझाङ सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।
शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट भएको क्षति अवलोकनपश्चात राहत, पुर्नस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक राहतको घोषणा गरेका हुन् ।
भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने पनि प्रधानमन्त्री दाहालले बताए ।
भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको पनि उनले बताए । भूकम्पले निम्त्याएको पहिरोमा परी मृतकको परिवारलाई तत्काल २ लाख रुपैयाँ सहयोग पनि प्रदान गरिने भएको छ ।
गत मंगलबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पमा परी एकको मृत्यु, २० जना घाइते भएका छन् । घाइतेमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् ।
घाइते पाँच जनालाई अन्यत्र रेफर गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।