शहरको मुटुमै रहेको ‘भोग थिएटर’मा नेपथ्य कन्सर्ट सकिएपछि दर्शकहरू उत्साहका साथ बाहिरिँदै थिए । त्यतिबेलै क्यानडा बस्दै आएका बिरु महर्जनले भिडियो रेकर्डिङ सुरु गरे । त्यो लाइभ रेकर्डमा बोल्ने सबै दर्शकहरू खुसीको उत्तेजना प्रकट गरिरहेका देखिन्छन् भने कतिपयले ‘भ्यानकुभरमा आजसम्मकै सबैभन्दा भव्य नेपाली कार्यक्रम’ भनेर प्रतिक्रिया व्यक्त गरिरहेको पाइन्छ ।
सबैभन्दा रोचक त झन्डै शतायु पार गरेको हलबाट बाहिरिँदै गरेका पाका उमेरको दर्शकहरू पनि भिडियोमा उत्तिकै खुसी देखिन्छन् । बिरुले यो भिडियो उनको फेसबुकमा राखेका छन् ।
यसरी क्यानडाको श्रृंखलाबद्ध सांगीतिक यात्रामा रहेको लोकरक ब्याण्ड नेपथ्यको दोस्रो कन्सर्ट भ्यानकुभरमा उत्तिकै भव्य एवं सभ्यरूपमा सम्पन्न भएको छ ।
कन्सर्टको सुरुवात अघिल्लोपटकजस्तै ‘सा कर्णाली’ म्युजिक भिडियोबाट भएको थियो भने त्यसलाई वैदेशिक रोजगारीमा गएकाहरूको भावमा उभ्याइएको ‘मैमरी जाउँला’ गीतले निरन्तरता दिएको थियो ।

चर्को स्वागतका बीच मञ्चमा नेपथ्य टोली आएपछि भने ‘कोशीको पानी यो जिन्दगानी’ ब्यान्डको पहिलो प्रस्तुति बन्न पुग्यो । गीतमा रहेको ‘आमाको कोखमा बास मात्र लिएँ, कुन देशको मरन हौ हजुर’ गाइरहँदा दर्शकदीर्घामा कतिपय अनुहार भावुक देखिन्थ्यो ।
‘नेपथ्यको कन्सर्ट जीवनमा एकपटक हेर्नैपर्छ भन्ने थियो,’ २७ वर्षदेखि नाम्चेबजारबाट क्यानाडा आइ बसोबास गर्दैआएका आङ निमा शेर्पा आफ्नै शैलीमा भनिरहेका थिए, ‘आज हेर्नपाउँदा बबाल रमाइलो लाग्यो ।’
कन्सर्टमा त्यसपछि ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’ सुनाइएको थियो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अर्थशास्त्र पढाइरहेका खेम दाहाल नेपालमा द्वन्द्व सुरु भएपछि असुरक्षित महसुस गरेर २२ वर्ष पहिले सपरिवार भ्यानकुभर आइपुगेका थिए ।
‘झन्डै डेढ दसकयता यो सहरमा नेपाली समुदायको चहलपहल सुरुभएता पनि यति भव्य कार्यक्रम यसअघि आयोजना भएको थिएन,’ दाहालले भने, ‘यो कन्सर्टले टिकटदर र दर्शक उपस्थितिमा मात्र होइन, भ्यानकुभरमा आयोजना हुने नेपाली कार्यक्रमको स्तरमा पनि गुणात्मक वृद्धि गरेको छ ।’
आफूलाई ‘रातो र चन्द्रसूर्जे’ अनि ‘गाउँगाउँबाट उठ’ गीतले सबैभन्दा मीठो महसुस गराएको बताउने दाहालले सम्पूर्ण कार्यक्रम नै मनोरञ्जक रहेको र आफू वरपरका सबै दर्शक सुरुदेखि अन्तिमसम्म रमाएको पनि उल्लेख गरे ।
कार्यक्रमस्थलमा नेपालबाट पढ्नका लागि भर्खरै क्यानडा आइपुगेका सिर्जन भण्डारी पनि थिए । यहाँ आएर नेपालीहरूसँग संगत गर्न पाए अलिक सहज हुन्थ्यो भनेर सोचिरहेको बेला नेपथ्य कन्सर्टले साथी मात्र नभइ दाजुभाइ दिदीबहिनीसमेत बनाउने मौका जुराइदिएको प्रतिक्रिया सिर्जनले दिए ।

कन्सर्ट हेर्नका निम्ति क्यानडामा पर परसम्म बसोबास गरिरहेका दर्शकहरू आएका थिए । दर्शक भीडमै कतिपय छिमेकी मुलुक अमेरिकादेखि आउनेहरू पनि देखिन्थे । तीनैमध्ये थिए, सियाटलबाट आउने सुमन चौधरी र पोर्टल्याण्डबाट आउने प्रदीप बानियाँ । ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका प्रदीपले उतै हुर्किएकी आफ्नी ठूली छोरी पनि नेपथ्यको प्रशंसक रहेको जानकारी दिए । दुवैले नेपथ्य हेर्न आफूले तय गरेको लामो यात्रा सार्थक रहेको अनुभव सुनाए ।
कन्सर्टको दशौं प्रस्तुतिकारूपमा ब्याण्डले ‘यो जिन्दगानी’ गीत सुनाएको थियो । दर्शक तालीकै बीच गीत प्रस्तुत गर्नेक्रममा नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले पछिल्लो एक वर्षदेखि ब्यान्डले थालेको ‘मानवताका लागि संगीत’ अभियानबारे पनि बोले ।
‘सडकमा अलपत्र परेर बाँचिरहेका मानिसहरू देख्दा दिक्क लाग्थ्यो,’ अमृतले थपे, ‘केही वर्षयता मानवसेवा आश्रमले त्यस्ता मानिसहरूको देशैभरि उद्धार गरिरहेको थाहा पाएपछि हामी पनि यो पवित्र उद्देश्यमा जोडिन पुगेका छौँ ।’ अमृतले कन्सर्टकै क्रममा नेपाल भित्रको जटिल परिस्थितिबारे बोल्दै सबैलाई मिलेर बस्न आव्हान पनि गरेका थिए ।
पोखरामा हुर्किएकी अनि सानैदेखि नेपथ्यको प्रशंसक भएता पनि आशिमा पुनले नेपथ्यको कन्सर्ट भने हेर्न पाएकी थिइनन् । क्यानडा आएको डेढ महिना नबित्दै अनि त्यसमा पनि दशैँको मुखमा यसरी आफूले चाहेको नेपाली कन्सर्ट हेर्न पाउँदा असाध्यै खुसी लागेको उनले सुनाइन् । ‘अझ मेरो वरपरका कतिपय दर्शकले त नेपालमा भिडियो कल गरेरै हल भित्रको दृश्य देखाइरहेका थिए,’ आशिमाले भनिन्, ‘क्यानडामा राती परिरहँदा त्यतिबेलै विहान सबेरै उठ्ने नेपालीहरू पनि नेपथ्य हेरेरै रमाइरहेको क्षण देख्दा अचम्म लाग्यो ।’
कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरूसँगै ‘अब कुन गीत सुन्ने ?’ भनेर प्रश्न गरेका थिए । त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए । यसरी ‘रेशम’ पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि कार्यक्रम ठीक ९ बजे अन्त्य भएको थियो ।

कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
भ्यानकुभरको दोश्रो कन्सर्ट सम्पन्न भएपछि अब ब्याण्ड ८ तारिख आइतबारका दिन टोरन्टोमा प्रस्तुत हुनेभएको छ । शोका निम्ति टोली टोरन्टो पुगिसकेको छ । त्यहाँस्थित क्यानडाकै विख्यात सभागृह ‘म्यासी हल’मा कन्सर्ट आयोजना हुँदैछ ।
यी कन्सर्टहरूमा क्यानडामा रहेका विद्यार्थीहरूको निम्ति विशेष छुटको व्यवस्था गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।