logo-img

पूर्वन्यायाधीश केसी भन्छन्- सरकार कानुनको पालना गराउने काममा गतिछाडा भयो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले सरकारलाई गतिछाडाको संज्ञा दिएका छन् । हत्यारा पुष्टि भएका रिगल भनिने योगराज ढकाललाई कैद सजाय मिनाहा गरेको दृष्टान्त पेश गर्दै उनले सो टिप्पणी गरेका हुन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सैनिकहरूले शासन चलाएको देशमा भन्दा पनि मनपरी गर्ने काम शासकहरूबाटै भएको भन्दै आक्रोशसमेत व्यक्त गरे । 

पूर्वन्यायाधीश केसीले संविधान, कानुनको पालना गराउने काम खड्किएको उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न कानुन व्यवसायी लाग्नुपर्ने बताए । 

‘एकजना महिलाले न्याय पाउनका लागि सर्वोच्च अदालतमा आउनु पर्‍यो । आजभन्दा दुई दिन अघि सर्वोच्च अदालतको प्राङ्गणमा एक जना महिला लोग्ने मारिएको थियो । सरकारले हत्यारालाई सरकारले माफी दियो,’ उनले भने, ‘यसले समाज नै अस्तव्यस्त हुन्छ भनेर छोड्नु हुँदैन भनेर ती महिला सर्वोच्चमा गुहार्न आउनुभयो । त्यो किन हुन गयो ? सरकार गतिछाडा भयो ।’  

कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकार र राजनीतिक पार्टीहरू आफैंले संविधान मिच्ने काम गरिरहेको आरोप लगाए । उनले स्वतन्त्र र सक्षम न्यायालयका लागि कानुन व्यवसायीले खवरदारी गर्नुपर्ने आवश्यकतासमेत औंल्याए ।  



‘अहिले पनि न्यायालय भित्र विकृति, विसंगति सकिएको छैन । अहिले पनि विधि मिच्ने काम आ–आफ्नो निकायहरूले गरिरहेका छन् । राजनीतिक पार्टी होस्, सरकार होस्, चाहे न्यायपालिका नै होस् । यिनीहरूले संविधान मिच्ने काम गरिराखेको छ । यो खवरदारी गर्ने काम कानुन व्यवसायीहरूले गर्नुपर्छ,’ श्रेष्ठले भने । 

उनले न्यायालयमा विधिको शासन, कानुनी राज्यको स्थापना गराउने काम कानुन व्यवसायीको रहेको पनि दोहोर्याए ।  



  • प्रकाशित मिति : असोज १९, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया