logo-img

काठमाडौं महानगरको स्वर्णिम योजना : हरेक वर्ष पाँच हजारलाई रोजगारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले १५ हजारलाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको जानकारी दिएका हुन् । 
 
‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंकमार्फत काम गर्ने बताएका हुन् । महानगरका स्थायी बासिन्दा, करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिक श्रम बैंकमा आबद्ध हुन सक्नेछन् ।

महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंक को स्थापना गरेर रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंकका योजनाअन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याएको बताइएको छ । 

चालू आर्थिक वर्ष २०८०–८१ मा काठमाडौं महानगरपालिकाले महानगर गौरवको आयोजना, स्वर्णिम आयोजना र वडा तथा महानगरपालिका मार्फत हुने अन्य योजना छुट्याएको थियो । महानगरको स्वर्णिम योजनामा बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध गरेर आवश्यक स्थानमा परिचालन गर्ने नीति छ । 

श्रम बैंकमा आबद्ध भएका जनशक्तिलाई तीन क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने बताएका मेयर शाहले जानकारी दिएका छन् । महानगरभित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाइ, सामाजिक विकास लगायतका क्षेत्रमा आन्तरिक व्यवस्थापन गर्ने पहिलो क्षेत्र रहेको बालेनले बताएका छन् । 

यस्तै, महानगरको ‘जब पोर्टल’ मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्था परिचालन गर्ने महानगरको तयारी छ ।

जनशक्ति व्यवस्थापनका लागि अर्को क्षेत्र महानगरको श्रम बैंक एप मार्फत आंशिक समय नोकरीकोे रुपमा सबै सेवा घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने मेयर बालेनले बताएका छन् ।



श्रम बैंक मार्फत सूचीकृत भएका सबै किसिमका कामदारलाई काम गर्दाका बखत अनिवार्य बिमा महानगरले गरिदिनेछ । महानगरको गौरवको योजनामार्फत विभिन्न १५ स्थानमा महानगरको आफ्नै ट्रेनिङ सेन्टर को स्थापना गरी १२ महिना बिहानदेखि साँझसम्म नियमित तालिम सञ्चालन गरिने बालेनले जानकारी दिएका छन् ।



  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया