काठमाडौं— स्वतन्त्र मधेशको माग राख्दै आन्दोलनमा होमिएका सिके राउतले २४ फागुनमा ११ बुँदो सहमति गरेपछि राष्ट्रिय राजनीतिमा तरङ्ग आयो । नआओस् पनि किन उनलाई अदालतले छोड्नु भन्ने आदेश दिएकै भोलिपल्ट उनी र प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभागृहमा एउटै मन्चमा देखिए । सँगै थिए, गृहमन्त्री रामबहादुर थापा बादल ।
सिकेसँगको सम्झौतापछि राष्ट्रिय राजनीतिमा तरंगहरु अस्वाभाविक रुपमा तरङ्गित हुन थाले । सरकारले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो । सँगसँगै सिके राउतसँग अजेन्डा मिलेको भन्दै आफ्नो सम्झौताको डिफेन्स गर्न थाल्यो । ११ बुँदे सम्झौता हुनुमात्र उपलब्धिमुलक कुरा भएन, सिकेसँग गरिएको द्विअर्थी लाग्ने सम्झौताबारे सरकारी तवरबाट राम्रो प्रतिक्रिया आयो । सरकारमा सहभागी दलका जो जो नेताले यसबारे बोले, उनीहरुको एउटै भाषा थियो । तर, कसैले पनि सिकेसँगको सम्झौतामा लेखिएका बुँदालाई आम मानिस सन्तुष्ट हुने गरि अथ्र्याउन सकेनन् ।
एउटा राम्रो कम्पन छोडेर काठमाडौंबाट सिके राउत जनकपुर पुगे । जनकपुरमा उनलाई स्वागतमा जे देखियो, त्यो एउटा अलग राष्ट्रले आफ्नो राष्ट्रप्रमुखलाई गर्ने स्वागतभन्दा फरक थिएन ।
तराई झरेका सिके केही दिन चुपचाप बसे । यसको अर्थ उनले बारम्बार सामाजिक सन्जालमार्फत् दिइरहेका थिए ।
फेरि अहिले सिके राउत सिराहाको लहानमा राष्ट्रिय परिषदको बैठकमा छन् र नेपाली राजनीति तरङ्गित भएको छ । यस्तो हुनुको एउटै कारण हो– परिषदको बैठकको सुरुवात नेपाली राष्ट्रिय गान गाएर हुनु ।
दुई दिने बैठकको आज अन्तिम दिन हो । यसले सिके राउतको पार्टीको आगामि कार्यदिशा तय गर्दैछ ।
राउतले परिषदको सुरुमा जसरी राष्ट्रिय गान बजाउन लगाए, त्यसले उनीप्रति नेपालीहरुको संवेदना तथा सोच पक्कै फेरिदियो, यसले उनलाई नेपाली मनमा थप बलियो बनायो ।
तर, के परिषदको बैठकमा राष्ट्रिय गान बजाउनु उनी बदलिएको संकेत हो ?
‘होइन, राजनीतिमा यस्ता घटना भइरहेका हुन्छन्,’ नेकपाका एक नेता तथा राजनीतिक विश्लेषक भन्छन्, ‘बाहिर के भइरहेको छ भन्ने कुराले सिके बदलिएको वा नबदलिएको भन्ने कुरा निर्धारण हुँदैन, उनले अबको व्यवहार के गर्छन् भन्ने कुरा पर्खेर हेर्नु पर्ने हुन्छ ।’
ती विश्लेषकले सिके राउत जनकपुर पुग्दाको प्रसङ्ग निकाले । जनकपुरमा सिके राउतको ‘भव्य’ स्वागत हुँदा जनमतसंग्रहको माग भएको थियो, अलग मधेशको माग भएको थियो, अलग देश बनाउनु पर्ने आवाज आएको थियो । र, सिके राउतले गरेको सरकारसँगको सम्झौतालाई आफ्नो जित भएको अधिकांशको स्वर थियो ।
‘यस्तै कुराहरुले गर्दा सरकार अहिले सिके राउतसँग भएको सम्झौता पूर्ण रुपमा पालना होला भन्नेमा डर मानिरहेको छ,’ प्रधानमन्त्री केपी ओलीनिकट नेकपाका एक नेताले भने, ‘उनी बदलिएका नै हुन् भन्नेमा आशंका बढिरहेको छ । तर, यसको अर्थ सरकारले सिके राउतसँग दूरी बढाउने भन्ने चाहिँ होइन ।’
अर्कोतिर स्वतन्त्र मधेश गठबन्धनलाई युएनपिओको सदस्यबाट सिके राउत हटिसकेका छैनन् । अलग राष्ट्रहरुको माग गरेका समूहको यो संगठन युएनपिओको सदस्यता अहिलेसम्म पनि किन सिके राउतले छोडेका छैनन् भन्ने महत्वपूर्ण कुरा हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।