बागमती प्रदेशसभाको आजको बैठकले दुईवटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।
बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका ज्येष्ठ सदस्य यांकिला शेर्पाले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर समितिले गरेको निर्णयको प्रतिवेदन पेस गरेकी थिइन् ।
बैठकमा विशेष समय मागेर नेकपा (एमाले) संसदीय दलका सचेतक मधुसूदनप्रसाद पौडेल, राप्रपा संसदीय दलका नेता उद्धव थापा र नेमकिपा संसदीय दलका नेता सुरेन्द्रप्रसाद गोरसाइँले इजरायलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनीहरुले त्यहाँ रहेका विद्यार्थीलाई तत्काल स्वदेश फर्काउन प्रदेश सरकारमार्फत संघीय सरकारको ध्यानाकर्षण गराए ।
त्यसपछि सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको घोषणा गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।