हालसम्म आइसिसी एकदिवसीय क्रिकेट प्रतियोगिताको १२ संस्करण सम्पन्न भइसकेको छ । सन् १९७५ देखि सुरु भएको विश्वकपमा २० देशले डेब्यू गरेका छन् । जसमध्ये ६ देशले मात्र उपाधि जित्न सकेका छन् ।
अहिलेसम्म अस्ट्रेलियाले सर्वाधिक पाँचपटक एकदिवसीय विश्वकप जितेको छ । त्यसपछि वेस्ट इण्डिज र भारतले दुई/दुईपटक विश्वकप ट्रफी चुमेका छन् । पाकिस्तान, श्रीलंका र इंग्ल्याण्ड एक/एकपटक एकदिवसीय विश्वकप च्याम्पियन बनेका छन् ।
आफ्नो देशलाई विश्वकप उपाधि दिलाउन केही खेलाडीले सानदार प्रदर्शन गरेका छन् । संन्यास लिएको वर्षौं भइसके पनि उनीहरूका केही कीर्तिमान अझै कायमै छन् । यसैबीच यहाँ एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने ५ ब्याटरको चर्चा गरिएको छ :
१. सचिन तेन्दुलकर
यो सूचीको शीर्ष स्थानमा भारतका महान क्रिकेटर सचिन तेन्दुलकरको नाम आउँछ । उनले एकदिवसीय क्रिकेटबाट संन्यास लिएको एक दशक बितिसकेको छ । तर, सचिनको नाममा रहेको सर्वाधिक रनको रेकर्ड भने अझै कायमै छ ।
सन् १९९२ देखि २०११ सम्म एकदिवसीय विश्वकप खेलेका उनले ४४ इनिङमा २ हजार २७८ रन बनाए । त्यसक्रममा सचिनले सर्वाधिक ६ शतक र १५ अर्धशतक हिर्काए । उनको रेकर्ड भंग हुन अझै वर्षौं लाग्ने देखिन्छ ।
२. रिकी पोन्टिङ
एकदिवसीय विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा अस्ट्रेलियन पूर्वकप्तान रिकी पोन्टिङको नाम आउँछ । उनले सन् १९९६ देखि २०११ सम्म विश्वकप खेले । त्यसक्रममा पोन्टिङले ५ शतक र ६ अर्धशतकको मद्दतमा १ हजार ७४३ रन बनाए । उनले यो उपलब्धि ४२ इनिङमा हासिल गरेका हुन् ।
३. कुमार संगकारा
श्रीलंकाका लोकप्रिय क्रिकेटर कुमार संगकाराले सन् २०३३ देखि २०१५ सम्म एकदिवसीय विश्वकप खेलेका थिए । जसमा उनले ३५ इनिङमा १ हजार ५३२ रन बनाए । त्यसक्रममा संगकाराले ५ शतक र ७ अर्धशतक प्रहार गरे ।
४. ब्रायन लारा
एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने मामलामा चौथो नम्बरमा वेस्ट इण्डिजका चर्चित क्रिकेटर ब्रायन लारा रहेका छन् । उनले सन् १९९२ देखि २००७ सम्म विश्वकप खेले । त्यसक्रममा लाराले ३३ इनिङमा २ शतक र ७ अर्धशतकको मद्दतमा १ हजार २२५ रन बनाए ।
यो सूचीको पाँचौं स्थानमा दक्षिण अफ्रिकाका स्टार एबी डिभिलियर्सको नाम समावेश छ । उनले सन् २००७ देखि २०१५ सम्म आयोजित एकदिवसीय विश्वकप खेले । जसमा डिभिलियर्सले २२ इनिङमा ४ शतक र ६ अर्धशतकसहित १ हजार २०५ रन बनाए ।
क्रिकेटबाट संन्यास लिइसकेका यी पाँचमध्ये दुई खेलाडीको रेकर्ड जारी विश्वकपमा तोडिने सम्भावना छ । उनीहरूलाई बंगलादेशका शाविक अल हसन र भारतका विराट कोहलीले पछ्याइरहेका छन् ।
शाकिवले ३० खेलमा २ शतक र १० अर्धशतकको मद्दतमा १ हजार १६० रन बनाएका छन् । यस्तै, कोहलीले २७ खेलमा २ शतक र ७ अर्धशतकको मद्दतमा १ हजार ११५ रन बनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।