इजरायलमा भएको हमास समूहको आतङ्ककारी हमलामा सुदूरपश्चिमका सातजना विद्यार्थी मारिएपछि यतिबेला पीडित परिवार शोकमा डुबेका छन् । आतङ्ककारी हमलामा दशजना नेपाली विद्यार्थी मारिएपछि मंगलबार सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा ज्यान गुमाउनेमध्ये धेरै सुदूरपश्चिमका छन् ।
सिक्दै कमाउन एक महिनाअघि इजरायल गएका दार्चुला, बझाङ, डोटी र कैलाली जिल्लाका सात विद्यार्थीले इजरायलमा ज्यान गुमाएका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले भने, ‘प्यालिस्टेनी हमास समूहले आक्रमणमा परेर नेपाली ती विद्यार्थीको ज्यान गएको दुःखद खबरले विश्वविद्यालय परिवार शोकमा डुबेको छ । यो घटनाले विश्वविद्यालय परिवार मात्रै होइन, सिंगो शैक्षिक क्षेत्र र राष्ट्रियस्तरमै अपूरणीय क्षति पुगेको छ ।’
उनकाअनुसार विद्यार्थी मारिएको शोकमा विश्वविद्यालय मातहतका निकायमा शोकसभा आयोजना भइरहेको छ । कैलालीको घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका-११ का गणेशकुमार नेपाली, बौनिया-३ कैलालीका आशीष चौधरी, लेकम-४ दार्चुलाका दीपेशराज विष्ट, डोटीका राजन फुलारा, पदम थापा र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्रसिंह धामीको आक्रमणमा परी निधन भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का बिपिन जोशी सम्पर्कविहीन छन् । उक्त विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत भदौ २५ र २६ गते ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए ।
नेपाली विद्यार्थी मारिएको घटनाले विक्षिप्त बनाएको टीकापुर कृषि क्याम्पसका तत्कालीन डीन लालप्रसाद अमगाईंले बताए । उनले भने, ‘आफ्ना विद्यार्थी इजरायल जाँदा निकै हर्षित थिए, एक महिनामै यस्तो दुःखद खबर सुनियो । खुसी क्षणभरमै समाप्त भयो ।’
सो विश्वविद्यालयले पहिलो पटक इजरायली राजदूतावासको समन्वयमा त्यहाँको सेडट नेगेभ कलेजसँगको सम्झौतामा विद्यार्थीहरू ११ महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि गत भदौ २५ गते १५ जना र २६ गते ३४ जना गरेर ४९ जना नेपाली विद्यार्थी इजरायल पठाएको थियो ।
विद्यार्थीले कृषि सीप सिक्नुका साथै केही आम्दानी गर्ने उद्देश्यले विश्वविद्यालयलले प्रयोगात्मक अभ्यासका लागि त्यहाँ पठाएको थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।