logo-img

एनआरएनए एकता महाधिवेशन : अब कस्तो नेतृत्व ?

गैरआवासीय नेपाली संघको एघारौँ अधिवेशन अबको पाँच दिनपछि काठमाडौंमा सुरु हुने लगभग पक्का छ । यही अधिवेशनले चार वर्षपछि सहज रूपमा नेतृत्वसमेत चयन गर्नेछ । गैरआवासीय नेपाली संघको विधानअनुसार हरेक दुई वर्षमा गरिने महाधिवेशनले नेतृत्व चयन गर्ने उल्लेख गरेको छ । तर, डेढ दशक लामो परोपकारी इतिहास भत्काउने गरी भएको दशौँ महाधिवेशनले संस्थाको छविलाई त धुमिल्यायो नै असहज लाग्ने गरी पदहरु सिर्जना गरेर हरेक इच्छुकलाई पद बाँडफाँड भयो । 

संघमा लाग्ने धेरै इमानदार अभियन्ताका लागि दशौँ महाधिवेशन बिर्सनलायक रह्यो । अध्यक्षका दुई प्रतिस्पर्धी कुल आचार्य र बद्री केसी आरोप–प्रत्यारोपमा उत्रिए । उनीहरूका कति व्यक्तिगत इगो थिए, कति संस्थागत पनि थिए । तथापि उनीहरूको कलहले धेरै अभियन्ताको लगाव र मिहिनेतबाट हुर्किंदै गरेको यति ठूलो सञ्जाल ६ महिनामा दुई चिरा भयो । देश–देशमा बनेका समितिहरू जो गैरआवासीय नेपाली संघका मेरुदण्ड हुन्, ती कुनै आचार्यको पक्षमा त कुनै केसी पक्षमा विभाजित भए । 

अहिले पनि एउटा ठूलो समूह संस्थाको मूलधारबाट बाहिर छ । शेष घले समूहले संघका कुनै पनि कार्यक्रममा रुचि देखाएको छैन । तथापि सबै देशमा रहेका एनसिसीहरू सहज रूपमा महाधिवेशमा होमिएका छन् । विवाद,  झगडा र मनमुटावबाट गुज्रिएको संस्था फेरि आफ्नो लयमा फर्किनुलाई राम्रो संकेतका रूपमा लिनुपर्छ । कसै न कसैले यो मिलापका लागि काम गरिरहेको थियो । 

यसलाई अलिकति पछाडि फर्केर हेर्नुपर्ने हुन्छ । त्यतिबेला जर्मनीका होटल व्यवसायी कुमार पन्त अध्यक्ष थिए । एनसिसीहरूको अधिवेशन नयाँँ संशोधित विधानअनुसार हुँदै थियो । कुल आचार्य, बद्री केसी र रविना थापा भावी अध्यक्षका लागि मैदानमा थिए । बहालवाला अध्यक्ष कुमार पन्त कुनै पनि हालतमा कुल आचार्यलाई अध्यक्ष हुन दिने पक्षमा थिएनन् । 

नेकपा एमालेसँगको सामीप्यका कारण पनि पन्त बद्री केसीसँग नजिक थिए । त्यसैले पन्तको काँधमा केसीलाई नै अध्यक्ष बनाउनुपर्ने जिम्मेवारी पार्टीले सुम्पिएको थियो । त्यो यस्तो बेला थियो, जहाँँ नयाँँ विधान थियो, पहिलोपटक एनसिसीहरूले केन्द्रीय अधिवेशनका लागि पार्षद चयन गर्दै थिए, पहिलोपटक अनलाइन मतदान प्रणाली सुरु गरिएको थियो । 

एकैपटक धेरै कुरा नयाँँ थिए । यसमा अधिकांश अभियन्त नै अनभिज्ञ थिए भने मतदाताले यी सबै प्रक्रिया बुझ्ने कुरै थिएन । त्यही मेसोमा पन्त–केसी समूहले आफ्ना मान्छेलाई मतदाता बनाएर मैदानमा उतारे । विभिन्न एनसिसीहरूमा रातारात सदस्य थपिए । जब आचार्य समूहले यो सबै थाहा पाउँदै गए, बुझ्दै गए । विवाद चर्किंदै गयो । पन्त समूह गल्ती सच्याउने पक्षमा थिएन । 



परिणाम के भयो भने पहिलोपटक संस्थाको विवादमा नेपाल सरकारले हस्तक्षप गर्यो । पहिलोपटक आफ्ना आन्तरिक विवाद लिएर अभियन्ता नै अदालत पुगे । दुई वर्षमा हुने भनिएको अधिवेशन अनिश्चित बन्यो । त्यही बेला थियो, जतिबेला गैरआवासीय नेपाली संघ टुक्रिएजस्तो देखियो । धेरैलाई लाग्यो, संस्था टुक्रिनु मात्र त के एउटा पूरै इतिहासको अनायासै पतन भयो । 

त्यहीबेला एकजना अभियन्ता लगातार आचार्य, घले लगायतका मान्छेसँग संवादमा थिए । धेरैलाई थाहा छैन तत्कालीन कोषाध्यक्ष महेश श्रेष्ठले लगातार घले समूहसँग संवाद र पहल नगरेको भए सम्भवतः संघले फेरि उत्साह प्राप्त गर्न सक्ने थिएन । महेश श्रेष्ठ निकटहरूका अनुसार यदि कुमार पन्त समूहले पद बाँडफाँड गरेर अधिवेशनको कर्मकाण्ड पूरा नगरेको भए शेष घलेकै उपस्थितिमा अधिवेशन हुन सक्ने थियो । ढिलो हुने थियो, तथापि गतिलो वातावरणमा हुने थियो । तै पनि महेश श्रेष्ठले संवाद छाडेनन् । 



बुझेकाहरू भन्छन्– अहिले भनिएको एकताको महाधिवेशन त्यसैको परिणाम हो । महेश श्रेष्ठ वहालवाला उपाध्यक्ष हुन् भने आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार । अध्यक्षका लागि उम्मेदवार उनी मात्र छैनन्, वर्तमान अध्यक्षहरू बद्री केसी र रविना थापा अनि वर्तमान उपाध्यक्ष आरके शर्मा पनि छन् । 

अध्यक्षमा उम्मेदवारी दिने तहमा पुगेका सबै मान्छेहरू पक्कै पनि योग्य नै हुन्छन् । बद्री केसी, रविना थापा, आरके शर्मा सबै जना योग्य नै छन । गैरआवासीय नेपाली संघमा लामो समय काम गरेका उनीहरूको योगदानलाई कम आकलन गर्न पटक्कै मिल्दैन । तथापि बद्री केसी र रविना थापासँग डेढ वर्ष नै किन नहोस् समय थियो । चाहेको भए विवाद, मनमुटाव र मुद्दामामिलाले थलिएको संस्थालाई तंग्रिन सक्ने बनाउन सकिन्थ्यो । तर, तीनैजना अध्यक्षले कुनै पहल गरेनन् । अहिले पनि संघ उस्तै अवस्थामा छ । संघलाई अलिकति नयाँँपन र पुनर्ताजगी र मिलापको खाँचो छ । त्यसका लागि श्रेष्ठ नै भावी अध्यक्षका रूपमा छानिनु उपयुक्त देखिन्छ । 

एउटा सानो उदाहरण हेरौँ– आचार्य र केसी समूहको विवादपछि धेरै एनसिसीहरूमा झन् चर्का विवाद देखिएका थिए । एनसिसी अमेरिकाको विवाद र विभाजन उल्लेख गर्नुपर्ने हुन्छ– केन्द्रीय समितिलाई सदस्यताबापतको रकम पठाउन पटक–पटक पत्राचार गर्दा पनि एनआरएनए अमेरिकाले पठाएन । त्यसपछि एनआरएनए केन्द्रीय समितिको ८२औँ बैठकमा एउटा निर्णय गरियो– केन्द्रलाई सदस्यताबापत तिर्नुपर्ने रकम नतिर्ने वा केन्द्रको नीति नियम, निर्देशन, विधान केही पनि पालना नगर्ने एनसिसीहरूलाई कारबाही गर्ने र केन्द्रीय आबद्धताबाट हटाएर अर्को एनसिसी गठन गर्ने । 

सन् २०२२ अप्रिल २३ मा बसेको एनआरएनए अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरूको बैठकले पञ्जीकृत सदस्यहरूको शुल्क बुझाउन बाँकी रहेका एनआरएनए एनसिसीहरूले अप्रिल ३० तारिखअगाडि शुल्क बुझाउनुपर्ने निर्णय गर्यो । उक्त मितिसम्म सदस्यताको रकम नबुझाएमा खारेज हुन्छ भन्ने किटानीका साथ केन्द्रले पत्राचार गर्यो । यो निर्णय अध्यक्ष कुमार पन्तको पहलमा भएको थियो । तर, तत्कालै कार्यान्वयनमा आएन । उनी आफ्नो कार्यकाल सकिएपछि निरपेक्षजस्ता देखिए । त्यसपछि पन्त कतै सुनिएनन् । तैपनि एनआरएनए अमेरिकाले केन्द्रलाई तिर्नुपर्ने रकम तिरेन । त्यसपछि एनआरएनए अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले एनआरएनए अमेरिकाले केन्द्रको ८२औँ बैठकको निर्णयअनुसार एनआरएनए अमेरिका खारेज भएको भन्दै कृष्ण लामिछानेको नेतृत्वमा नयाँ कमिटी गठन गरिदिए । नयाँ कमिटी गठन गर्दा एनआरएनए अमेरिकाको अध्यक्ष पदमा पराजित अर्जुन बन्जाडे, कृष्ण लामिछानेसहित महासचिव गौरीराज जोशी, वर्तमान कोषाध्यक्ष सुनील शाह सबै नयाँ कमिटी गठनकै पक्षमा थिए । 

एनआरएनए अमेरिकामा दुईवटा कमिटी बनेको र विवाद झन् चुलिएपछि उपाध्यक्ष महेश श्रेष्ठले त्यसलाई मिलाउन पहलकदमी लिए । त्यहाँको द्वन्द्वलाई कम गराउन श्रेष्ठको प्रवेश भयो । तर, जब महेश श्रेष्ठको प्रवेश भयो उनले एनआरएनए अमेरिकालाई सदस्यताबापतको रकम पठाउन लगाए । त्यो बेला अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले एक हप्तामा पैसा पठाउन लगाउने भन्ने निर्णय गरेको थियो । महेश श्रेष्ठले सोही अनुसार पहलकदमी लिए । 

एनआरएनए अमेरिकाले आफ्ना सदस्यबापत केन्द्रलाई बुझाउनुपर्ने करिब एक लाख डलर हप्ता दिनभित्रैमा भुक्तानी गर्न लगाए । समानान्तर रूपमा रहेको अर्को एनसिसीलाई समर्थन गरेका जोशी, शाहलगायत अभियन्तालाई मूलधारमा ल्याए । श्रेष्ठले अमेरिकामा जे–जे गरे त्यसको छनक कसैले पाएनन्, तर एनसिसी अमेरिका एक बन्यो । 

अहिले पनि अरू धेरै एनसिसीहरूको अवस्था त्यति सौहार्द्रपूर्ण छैन । अझै पनि गैरआवासीय नेपाली संघलाई एक ढिक्का बनाएर लैजानुपर्ने आवश्यकता उत्तिकै छ । बद्री केसी, कुमार पन्त र कुल आचार्यहरूले धमिल्याएको यो संस्थालाई यदि कसैले सही बाटोमा हिँडाउन सक्छ भने ती महेश श्रेष्ठ मात्र हुन् । 

कहिलेकाहीँ कस्तो हुन्छ भने सबै बाटाहरू अन्धकारले छोपिए पनि टाढा कतै धिपधिप बल्दै गरेको बत्ती देखिन्छ । अहिले गैरआवासीय नेपाली संघका लागि महेश श्रेष्ठले त्यही धिपधिपे बत्तीको काम गरे । एनआरएनलाई एकढिक्का बनाएर अघि बढाउनका लागि पनि श्रेष्ठको नेतृत्व आवश्यक देखिन्छ । 

  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया