logo-img

के विदेश जानु गलत हो ?
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बिदेसिनु लेखियो कर्मैमा... भन्ने गीत हामी नेपालीको लागि मात्र लेखिएको पक्कै होइन, आज सयौँ नेपाली मात्र होइन दक्षिण एसियाका भारत, पाकिस्तान, बाङ्लादेशका पनि युवा दिनहुँ बिदेसिँदै छन् । बिदेसिनुभित्र थोरबहुत कुरा लुकेको हुन्छ । जसभित्र गुणस्तरीय जीवन पनि पर्दछ । 

पहिलो कुरा हाम्रो देश लगायत दक्षिण एसियाका देशको मुद्रा कमजोर हुनुले र सामाजिक सुरक्षाको बन्दोबस्त कार्यान्वयन हुन नसक्नुले युवाहरू आफ्नो देशमा बस्न रुचाउँदैनन् । हामीले नेपाली मात्र संसारभर छरिएका छौँ होला भन्ने ठान्छौ । तर हाम्रो ठम्याइको वास्तविकता अलग छ । हामीभन्दा सम्पन्न मुलुक भारत र बाङ्लादेशका हजारौँ युवा दिनहुँ अन्यत्र आफ्नो गुणस्तरीय जीवन जिउने सपना बोकेर पलायन भएको तथ्याङ्क आज यहाँ प्रस्तुत गर्ने कोसिस हुनेछ । 

हाम्रो छिमेकी मुलुक भारतमामात्र वार्षिक पच्चीस लाख मानिस देश छोडेर बाहिर जाने रहेछन् । हालसम्म जनसङ्ख्याको करिब एक करोड ३० लाखको हाराहारी बाङ्लादेशका नागरिक बिदेसिएका रहेछन् । पाकिस्तानीहरूमात्र करिब वर्ष दिन नपुग्दै ८० हजारले देश छोड्ने रहेछन् । हालसम्म करिब जनसङ्ख्याको ६३ लाख पाकिस्तानीहरू विदेशमा बस्ने गरेको रहेछन् । वार्षिक करिब २० लाख बढी चिनियाँहरूले पनि देश छोडेर अन्यत्र जाने गरेको तथ्याङ्क छ । हालसम्म विदेशमा रहेका नेपालीको सङ्ख्या भने करिब २२ लाखको हाराहारी रहेको छ । यसबाट के प्रस्ट हुन्छ भने हामी नेपालीहरू तुलनात्मक रूपमा दक्षिण एसियाली मुलुकका अन्य देशभन्दा बिदेसिने सङ्ख्या कम रहेछ । हाम्रो देशमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र हुँदै दिनहुँ हजारौँको सङ्ख्यामा देखिने वैदेशिक यात्रीको भिडले देश रित्तो भएको भान दिलाउनु स्वाभाविक भए पनि अन्य मुलुकको तुलनामा यो सङ्ख्या न्यून मान्नु पर्छ । 

एसियाबाहेक युरोपमा पनि हजारौँले आफ्नो इच्छाइएको जस्तो जीवनयापन हुन नसक्दा बिदेसिनेको सङ्ख्या पनि कम छैन । युरोपबाट पनि बिदेसिनेको वार्षिक सङ्ख्या करिब ९ लाख ५६  हजार रहेको छ । नेपाली मात्र नभएर संसारका प्रायजसो देशका नागरिक दैनिक हजारौँको सङ्ख्यामा अध्ययन, रोजगारी, पारिवारिक मिलन, व्यापार व्यवसाय र विविध कारण बिदेसिन्छन् । यो ‘ग्लोबल माइग्रेन्ट्’ को एउटा हिस्सा नै बनिसकेको छ । 

हामी सोच्दछौ कि नेपाली मात्र दिनहुँ बाहिरिन्छन् । हाम्रो देश मात्र नभई सयौँ देशहरूले रेमिट्यान्सबाट मुलुकको आर्थिक सबलता बनाउँदै छन् । अर्को कुरा कसैलाई पनि विदेश जानलाई रोक्न सकिने अवस्था भने हुँदैन किनकि व्यक्तिको आफ्नो उद्देश्य, इच्छा, चाहना, रहर र बाध्यताको कारण मान्छे बिदेसिन्छ । यसलाई हामीले स्वाभाविक मान्नु पर्छ । देशको आर्थिक अवस्था सुधार गर्न विविध उद्देश्य लिएर जाने नेपालीको व्यक्तिगत जीवनमा आउने आर्थिक परिवर्तनले बिस्तारै देश पनि सम्पन्न हुँदै जान्छ भन्ने कुरा छिमेकी मुलुकको विकासको फड्कोलाई पनि उदाहरण मान्न सकिन्छ । 

बिदेसिनुलाई सकारात्मक तबरलेमात्र नभई केही देखिने समस्याको रूपमा बुझ्न जरुरी छ । यदि कसैको बहकाउमा वा फेसनको रूपमा मुलुक बाहिर जानु भनेको दुखको सागरमा हाम फाल्नु सरह मान्नुपर्छ । अन्यत्र गएर अध्ययन गर्दै केही सीप र दक्षता हासिल गरेर पुनः आफ्नै देशमा फर्केर केही गर्छु भन्ने कालागि बिदेसिनु नराम्रो पक्कै पनि नहोला । 



देशको राजनीतिक अवस्था विकासोन्मुख परिस्थितिले दिनहुँ बिदेसिनेको सङ्ख्या बढ्नु राम्रो सङ्केत होइन तर अध्ययन, र कामको सिलसिलामा जाँदा फर्केर देश भित्रिनेले पक्कै पनि देश कालागि अवश्य सानो इट्टाको काम गर्नेछन् । देशमा सोचेको र चाहेको जस्तो रोजगारी र बस्ने वातावरण भए सायदैले अन्यत्र जाने सोच बनाउँछन् होला । हिजो पनि धेरै जसो भारतमा रोजगारी कालागि जाने गर्दथे भने आज अन्यत्र जानु नौलो कुरो पक्कै भएन । 



  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया