कांग्रेस नेता गुरुराज घिमिरेले कोशी प्रदेशको सरकार गठनको प्रक्रियाले आफ्नो ध्यान आकृष्ट भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले दलीय राजनीतिमा निर्दलीय अभ्यास सर्वथा बर्जित रहेको दाबी गरेका छन् ।
‘दुनियाँमा दलीय राजनीतिमा निर्दलीय अभ्यास सर्वथा बर्जित छ भन्ने हामीलाई थाहा छ। संविधानको सुविधाको उपयोगको अर्थ दलको दायराको कदापि पनि उल्लंघन होइन र दलको व्यक्तिले यसको दुरुपयोग गर्न सोच्नु पनि हुँदै,’ उनले लेखेका छन्, ‘दलका नेताको जिम्मेदारी र जवाफदेहिता दलप्रति नै हुनुपर्छ। यो नै दलका सदस्यको दलका प्रतिको अटल निष्ठा हो।’
सत्ता, राजनीतिक यात्राक्रमको सुन्दर देउराली र मोड मात्रै रहेको, तर अन्तिम गन्तव्य नभएको उनको ठम्याइ छ । ‘बिपीले सत्तालाई कहिल्यै पनि राजनीतिको साध्य मान्नु भएन भन्ने हामीलाई हेक्का छ कि छैन ?’ प्रश्न गर्दै उनले भनेका छन्, ‘सरकार गठनको क्रममा समाचारमा जे सुनिएको छ, दुर्भाग्यपूर्ण छ, निष्ठाको परीक्षण हुने नै छ।’
लगभग दुई वर्षदेखि कोशी प्रदेशको कांग्रेस राजनीतिमा आफ्नो भूमिका पर्यवेक्षकसरहको मात्रै रहेको उनले गुनासो पनि गरेका छन् । उनले लेखेका छन्, ‘यस विषयमा केन्द्र र प्रदेश कार्यसमिति दुवैको रुचि र मिलोमतो छ र सबै नेताहरुबीच एकमत छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।