logo-img

चार लेनको बन्दै तालचोक-बेगनास सडक, साढे ७५ करोडमा ठेक्का सम्झौता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ ।

‘ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो’, महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भने, ‘सरासर काम भयो भने वि.सं २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको प्रतिबद्धता पनि त्यही छ ।’ 

विश्व बैंकको सहयोगमा उक्त सडकको स्तरोन्नति योजना अगाडि बढेको उनले बताए । तीन दशमलव २८ किमीको चार लेन सडक बनाउने जिम्मा ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले पाएको इन्जिनियर कोइरालाले बताए ।  

‘१ अर्ब ४९ करोड रुपैयाँको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो’, उनले भने, ‘फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्दैछ ।’ 



सडक छेउछाउमा बगैँचा, सडकबत्तीलगायत आकर्षक पूर्वाधार बनाइने महानगरले जनाएको छ । सडकमा तीन पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर कोइरालाले बताए । दसैँअघि मार्ग खुलेर पनि सडक स्तरीय नहुँदा सो क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । 

सो सडक बेगनास, रूपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले तालचोक–बेगनास सडक स्तरोन्नति महानगरकै गौरव गर्न लायक योजना रहेको सुनाए । ‘विस्तारै कामले गति लिइरहेको छ, केही ठाउँमा जग्गाको मादपण्डबारे स्थानीयले उठाएको मागका विषयमा पनि अध्ययन गर्न समिति गठन गरिएको छ’, उनले भने, ‘समयमै काम सक्न दातृ निकाय र निर्माण कम्पनीलाई सबैको सकारात्मक सहयोग चाहिन्छ ।’ 

निर्माण कम्पनीले काममा कुनै बाधा नआए तोकिएको समयभित्रै निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष गुरुङले बताए । ‘परामर्शदाता कम्पनी पनि काममा कुनै ढिलाइ नहोस् भन्नेमा सचेत देखिन्छ, जनप्रतिनिधिलाई पनि झक्झाइरहनुभएको छ’, उनले भने ।

वडाध्यक्ष गुरुङले चार लेनको सडक बनेमा सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फेर्ने बताए । तालचोक–बेगनास सडक पोखरा–मुग्लिन राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उनको भनाइ छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ । 



कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति कार्य बेलैमा सक्नुपर्ने बेगनास तालका डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डेले बताए । निर्माणका चरणमा भएकाले पर्यटकका लागि उक्त सडकको यात्रा कष्टपूर्ण बनेको उनले बताए । 

मुख्य पर्यटकीय याममै बेगनास क्षेत्र घुम्न जाने पर्यटकको संख्या घटेको जनाइएको छ । ‘चार लेनको सडक बन्दा बेगनास क्षेत्रको आउजाउ सजिलो बन्छ, यहाँको पर्यटनले पनि नयाँ गति लिन्छ’, पाण्डेले भने, ‘सडक निर्माणमा ढिलासुस्ती हुन दिनु हुँदैन, महानगर पनि यसमा चनाखो रहनुपर्छ ।’ रासस 

  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया