एजेन्सी— न्युजिल्यान्डको सहर क्राइस्टचर्चमा दुई मस्जिदमाथि भएको आक्रमणमा ५० जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेसिन्दा अर्डनले त्यहाँको बन्दुकसम्बन्धी कानुन बदल्ने घोषणा गरेकी छिन् ।
जेसिन्दाले कानुनमा बदल्नका लागि उनलाई सैद्धान्तिक तरिकामा क्याबिनेटको मन्जुरी मिलिसकेको पनि बताएकी छिन् । साथै, आफूलाई नस्लवादी बताउने अष्ट्रेलियन नागरिक ब्रेन्टन टेरन्टलाई हत्याअभियोग लगाइएको छ ।
प्रहरीले हत्याराले सेनाले प्रयोग गर्ने हतियार प्रयोग गरेको अनुमान लगाएको छ ।
सोमबार गरिएको एक पत्रकार सम्मेलनमा न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्दाले भनिन्, ‘यो आतंककारी घटनापछि १० दिन भित्र नै बन्दुकसँग सम्बन्धित नयाँ कानुन ल्याउने छौँ र मलाई लाग्छ अब हाम्रो समाज सुरक्षित पनि हुनेछ ।’
शनिबार जेसिन्दाले नै क्राइस्टचर्चमा आक्रमण गरेका व्यक्तिलाई सन् २०१७ देखि नै बन्दुक राख्ने लाइसेन्स भएको र उनले आफूसँग पाँच वटा बन्दुक राखेको बताएकी थिइन् ।
न्युजिल्यान्ड ती देशहरुको सुचीमा छ जहाँ बन्दुक राख्न सहज मानिन्छ । न्युजिल्यान्डमा बन्दुक राख्न न्युनतम उमेर १६ वर्ष हो भने सेमी अटोमेटिक बन्दुक राख्न १८ वर्ष पुगेको भए हुन्छ । यसका साथै त्यहाँको सरकारले दिने लाइसेन्स पनि लिएको हुनुपर्छ । एकपटक लाइसेन्स पाएपछि जतिवटा पनि बन्दुक खरिद गर्न पाउने नियम न्युजिल्यान्डमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।