नेपाली चलचित्रले लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ ।
दर्शक बढाउने काम अपेक्षित चलचित्रले गरेका छन् । तीमध्येको एक हो, ‘जात्रा’ शृङ्खला । षट्कोण आर्टसले निर्माण गरेको उक्त चलचित्रले अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यहीँ कारण उक्त कम्पनीले निर्माण गर्ने आगामी चलचित्र ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।
अस्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’को भारतबाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका छन् । उनले कथाले पूर्णता नपाउँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खलाप्रतिको दर्शकको विश्वासलाई मुख्य कारण देखाए ।
जापान, हङ्कङ, न्यूजिल्याण्ड, दक्षिण कोरिया, मध्यपूर्वका देश, अस्ट्रेलिया तथा युरोपमा चलचित्र नेपालकै मिति आगामी ९ चैतमा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिँदै वितरक थापाले ‘महाजात्रा’मार्फत केही नयाँ देशमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुनेसमेत बताए ।
विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवारका साथ आउने गरेका छन् । सो चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन लागेको बताए ।
आपत्कालीन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’को लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् । चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कालगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रको छायाङ्कन दसैँलगत्तै कात्तिकको दोस्रो साताबाट सुरु हुनेछ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।