नेकपा विप्लव समूहका १७ कार्यकर्ता पक्राउ

काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म सो पार्टीका १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणाअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौजनामाथि कारबाही जारी छ । 

पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्युरो सदस्य मोहन कार्कीसमेत छन् । मुलुकभर नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमाथि सूक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको सुवेदीले जानकारी दिए । 

सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारबाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारको निष्कर्ष छ । 

गृहमन्त्रालयले कानुनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगरार्इ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ । 

विगतमा चन्दा आतंकदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारबाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीले जनाएको छ । विप्लव समूहले यसअघि विभिन्न क्षेत्रमा बम विष्फोट गराउनेदेखि आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएको थियो । 



गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरेको थियो । 



  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार १५:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया