सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विगतमा केन्द्रमा सीमित रहेको भ्रष्टाचारको संस्कृति अहिले गाउँसम्म पुगेको बताए ।
‘स्थानीय तह, प्रदेश र संघीय सरकारलाई कर तिरेर जनताको ढाड सेकिएको छ,’ अध्यक्ष राणाले भने, ‘जनतालाई संघीयताको प्रत्याभूति हुन सकेको छैन ।’
त्यस्तै, राप्रपा (संयुक्त)का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सिके राउत पृथकतावादी अभियान छोडेर राष्ट्रिय राजनीतिको मूल धारमा आउनु एकतहको सुधार भएको तर्क गरे । राष्ट्रिय एकता र अखण्डताबारे जनमत नहुने भएकाले पार्टीको नाम ‘जनमत’ राख्नु उचित नभएको उनको धारणा थियो ।
अध्यक्षद्वय राणा र लोहनीले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु ठीक नभएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।