मोजाम्बिकलगायत केही दक्षिण अफ्रिकी मुलुकमा आएको शक्तिशाली तुफानले ठूलो विध्वंश मच्चाएको छ । ‘अदाई’ नाम दिइएको उक्त तुफानमा परी मोजाम्बिकमा मात्रै एक हजार मानिसको ज्यान गएको अनुमान छ ।
मोजाम्बिकका राष्ट्रपति फिलिप न्युसीले मृतकको संख्या हजारसम्म पुग्न सक्ने बताएका छन् । सोमबारको हवाई सर्भेमा आफूले थुप्रै शव पानीमा तैरिएको देखेको उनले बताएका छन् ।
अदाई तुफान तटीय सहर बेइरामा बिहीबार नै पुगेको थियो, तर उद्धार टोली भने आइतबार मात्रै त्यहाँ पुग्न सफल भयो ।
तुफानका वेला हावाको गति १७७ किलोमिटर प्रतिघन्टा थियो ।
बेइरा पुगेका उद्धारकर्मीहरुले बताएअनुसार ५० लाख जनसंख्या भएको यो सहरमा कुनै पनि भवन सकुशल छैनन् । घरका छत र पर्खाल भत्किएका छन् । हजारौँ मानिस घरविहीन भएका छन् ।
त्यहाँको विद्युत् र सञ्चार सेवा ध्वस्त भएको छ । सडकभरि बिजुलीका पोल ढलेका देखिन्छन् । उद्धारकर्मीहरु रातमा रुखको सहारा लिएर पीडितहरुलाई सहयोग गरिरहेका छन् ।
तुफानले छिमेकी देश जिम्बाब्येमा पनि ठूलो क्षति पुर्याएको छ । सरकारी आँकडामा अहिलेसम्म जिम्बाब्येमा ९८ जनाको मृत्यु भएको छ भने २१७ जना बेपत्ता छन् । सरकारले राष्ट्रिय आपत्को घोषणा गरेको छ ।
मलावीमा पनि तुफानको गहिरो असर परेको छ । तुफानपछिको भारी वर्षा र भूस्खलनका कारण मलावीमा १२२ जनाको ज्यान गएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।