नेपालीहरूको महान् चाड दसैँ आइसकेको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दसैँको विशेष महत्त्व छ ।
देवी दुर्गाले विनाशकारी दानव महिषासुरको वध गरेर असत्यमाथि सत्यको जित गरेको सम्झनामा विजयादशमी मनाइने गरिन्छ । त्यस्तै, दसैँको प्रसंग रामायणसँग पनि जोडिएर आउने गर्छ । पुरुषोत्तम रामले राक्षस रावणको वध गरेर विजय प्राप्त गरेको सम्झनामा पनि वडा दसैँ मनाइने गरिएको धार्मिक विश्वास छ ।
परापूर्व कालदेखि मनाइँदै आएको बडादसैँको अहिले पनि उत्तिकै महत्त्व छ । तर, पछिल्लो समय दसैँको मौलिकता हराउँदै गएको कतिपयको गुनासो तथा अनुभव छ । समय परिवर्तनशील छ, समय परिवर्तनसँगै दसैँ मनाउने तरिकामा पनि फरकपन आउन थालेको छ । पहिले खेलिने लठ्ठे–रोटे पिङ, चङ्गाको महत्त्व पनि बिस्तारै हराउँदै गएको बुढापाकाले गुनासो गर्छन् ।
विगत ५० वर्षअघिको दसैँ र अहिलेको दसैँ धेरै फरक भइसकेको छ । युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको परिवर्तन र प्रविधिको विकासले दसैँ प्रत्येक वर्ष बदलिँदै गइरहेको छ । भौतिक पूर्वाधारमा आएको विकास, सूचना प्रविधिमा भएको परिवर्तन नै दसैँ बदलिनुको मुख्य कारण हुन् ।
हिजोआज गाउँघर शून्य देखिन्छन् । गाउँमा महिला र वृद्धवृद्धामात्र छन् । युवा जति अध्ययन र रोजगारीका नाममा विदेशी भूमिमा भाग दौड गरिरहेका छन् । वैदेशिक रोजगारीका कारण गाउँ सुनसान हुँदा पनि दसैँ आएजस्तो अनुभूति हुँदैन ।
पहिले–पहिले दसैँ मनाउनकै लागि एक महिना अगाडिदेखि नै देश, विदेशमा रहेका नेपाली एकत्रित भएर आफ्नो पुर्खाको थलो टेक्थे । पुर्खाको थातथलोमा भेला भएर दसैँ मनाउने गर्थे । तर, हिजोआज विदेश गएका त विदेशमै हुन्छन्, स्वदेशमै भएका पनि गाउँघरसम्म नपुग्ने चलन बढ्दै गएको छ । हिजोआज सामाजिक सञ्जालमार्फत नै विश्वका विभिन्न कुनादेखि नेपालको दसैँ नियाल्दै बस्छन् ।
‘पहिले परिवार एकै ठाउँमा बसिन्थ्यो । गाउँ, सहर तथा विदेशमा छरिएर रहेका परिवारका व्यक्ति दसैँमा जसरी पनि घर पुग्ने चलन थियो । एकै भान्सामा विभिन्न परिकार बनाएर खान्थे,’ समाज शास्त्री निर्मला ढकाल भन्छिन्, ‘तर, पछिल्लो समय धेरैजसो विदेश नै पलाउन भइसकेको अवस्थामा सबै जना एक ठाउँमा भेला भएर दसैँ मनाउने सम्भावना कम भएको छ । दसैँ भन्ने बित्तिकै पारिवारिक मेलमिलापका रूपमा बुझ्छौँ । उक्त पारिवारिक मेलमिलापमा कमी आएको छ ।’
उनका अनुसार पहिले दसैँ विशेष परिकार पाक्थे । तर, पछिल्लो समय विभिन्न रोगका कारण खानपानमा पनि परिवर्तन भएको छ । त्यसै गरी कोरोना महामारीमा दसैँ मनाउने पद्धतिमै परिवर्तन भयो । पहिले आफन्तकहाँ गएर टिका थाप्ने, आर्सीवाद लिने चलन थियो । तर, हिजोआज सीमित परिवारकहाँ टिका थाप्न गइन्छ । वातावरण परिवर्तन भएसँगै दसैँ मनाउने परिपाटीमा पनि परिवर्तन आएको छ । हिजोको जसरी नै दसैँ मनाउँछौ भनेर पनि सम्भव नहुने समय आइसकेको समाज शास्त्री ढकालको भनाइ छ ।
उनका अनुसार समाज अघि बढ्ने कुरा परिवर्तनलाई स्वीकार गर्नुपर्छ । जस्तो वातावरण हुन्छ, त्यस्तै संस्कृतिमा पनि परिवर्तन आउँछ । पहिलेकै अवस्थामा दसैँ मनाउँछु भन्ने स्थिति अहिले छैन । प्रविधिको विकासले विश्वको जुनसुकै कुनामा भए पनि चाडबाडमा सामाजिक सञ्जालको माध्यमबाट जोडिने अवसर मिलेको छ । दसैँ भूगोलका कारण टाढा बसेर मनाउने गरिएको भए पनि सामाजिक सञ्जालले प्रत्यक्ष रूपमा जोडिने वातावरण मिलाएको छ । यसलाई पनि सहज रूपमा लिनुपर्ने समाज शास्त्री ढकालले बताइन् ।
पहिले पहिले गाउँघरमा दसैँ आउनुभन्दा अगाडि पूरै घरलाई लिपपोत गर्ने चलन थियो । हिजोआज पनि लिपपोत गरिन्छ तर उत्साह भने हुँदैन । किनकि आजको युवा पीढीले लिपपोतबाट कोसौँ दूर छ । पहिले गाउँघरमा माटोको घर हुन्थे । घर सिँगार्न रातो माटो, कमेरो (सेतो माटो) र काली माटी खोज्न आमा, दिदीबहिनीहरू सोली बोकेर टाढा–टाढा जान्थे । यसरी बोकेर ल्याएको माटोले घर छ्याप्ने–लिप्ने गरिन्थ्यो ।
हिजोआज दसैँमा हाम्रो पहिले जस्तो आकर्षण र उत्साह देखिँदैन । हजुरबुवा, हजुरआमाले दसैँलाई वर्षको एक मात्र समयको रूपमा सम्झन्छन्, जब उनीहरूलाई नयाँ लुगा लगाइयो । तर, स्पष्ट रूपमा उनीहरूका नातिनातिनाहरू फरक जीवनशैलीमा अभ्यस्त भइसकेका छन् । चङ्गा, लिङ्गे पीङ र धार्मिक अनुष्ठानहरू त्यस बेला दसैँको सार हुन्थे । तर, अहिले साथीभाइ भेट्न पनि मुस्किल छ ।
यस्तै दसैँ सनातन वैदिक संस्कृतिको एक पर्व भएको संहिताशास्त्री एवं पूर्वीय दर्शनका ज्ञाता अर्जुनप्रसाद बास्तोला बताउँछन् । दसैँमा समयअनुसार परिवर्तन भएको र स्वाभाविक नै भएको उनको भनाइ छ ।
उनका अनुसार कुनै पनि कुरा परिचालन हुनका लागि शक्ति चाहिन्छ । दसैँले पनि नेपालीलाई शक्ति प्रदान गर्छ । यसलाई शारदीय नवरात्रा भनिन्छ । यस वेला विभिन्न किसिमका फूल फुल्ने, फलफूल पाक्ने र धान वाली भित्र्याउने समय रहेको छ ।
‘कवि लेखनाथले लेखेका छन्, ‘हरायो सारा हिलो मैलो, भयो आनन्दको बेला, भयो भवानीको पूजा’ दसैँले हरेकाको जीवनमा उमंग ल्याउँछ । दसैँ सबैको साझा चाड हो । मनाउने तरिका फरक भए पनि सबै नेपालीले दसैँ मनाउँछन्,’ उनले भने ।
समयसँगै दसैँ मनाउने तरिकामा परिवर्तन आएको संहिताशास्त्री एवं पूर्वीय दर्शनका ज्ञाता बास्तोलाले पनि अनुभव गरेका छन् । पहिलेको समयमा नेपाली समाजमा चाडको जुन बेग्लै उमंग थियो, त्यो उमंग संहिताशास्त्री अहिलेको युवा पिँडीमा खोज्छन् । तर, अफसोस त्यो उमंग उनले केही गरेर पनि पाउँदैनन् । जसको कारक उनी पश्चिमी संस्कृति भित्रिनु मान्छन् ।
‘पहिले हजुरबुवा, हजुरआमा, ठूलोबुवा, ठूलीआमाले, ‘लो केटाकेटी हो, दसैँ आयो, नयाँ नाना लगाउनुपर्छ’ भनेर जसरी आफूभन्दा सानालाई प्रेरणा दिन्थे,’ संहिताशास्त्री भन्छन्, ‘तर, अहिले एकल परिवार भयो । आमाबुवा जागिरमा जान्छन्, छोराछोरी पी–स्कुलमा जान थाले । वातावरणले ल्याउने चाडप्रतिको उमंग अहिले हराएको छ ।’ दसैँ राष्ट्रिय चाड भएकाले यसप्रतिको हर्ष, उमंग पहिलेको झैँ ल्याउनका लागि अहिलेदेखि नै सचेत हुनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार पहिलेको दसैँमा र अहिलेको दसैँमा धेरै अन्तर छ । पहिलेको जस्तो हर्ष, उमंग एक चौथाईपनि बाँकी रहेको छैन । अहिलेको दसैँ औपचारिकता जस्तै भएको छ । रहरलेभन्दा करले मनाउन लागेको जस्तो देखिन्छ । किनभने कसैलाई दसैँप्रति हर्ष, उत्साह, उमंग नै देखिँदैन ।
‘हिजोआज त दसैँ मनाउने भनेको झारो टार्ने कामजस्तै भइरहेको छ । अहिले त दसैँ मनाउने भनेपछि नयाँ–नयाँ ठाउँ घुम्न जाने, विदेश भ्रमणमा जानेजस्तो बुझ्न थालिएको छ,’ उनले भने, ‘दसैँ बिदामा दसैँ मनाउनेभन्दा पनि घुम्ने, रमाउने भन्नेतिर जान थालियो । यसको मुख्य कारण वि.स २०२८ सालमा आएको शिक्षा प्रणाली हो । यस प्रणालीले नैतिक शिक्षा, सामाजिक शिक्षा, चाडपर्वको शिक्षा, संस्कृतजस्ता विषयलाई प्राथमिकतामा राखेन ।’ अहिलेको शिक्षामा धर्म, संस्कृत, चाडबाडको शिक्षा हटाउँदा र पश्चिमी सभ्यताको अतिक्रमणमा परेर दसैँको मौलिकता हराएको उनको ठम्याइ छ ।
उनका अनुसार दसैँ मनाउनु हाम्रो संस्कृति जोगाउनु हो । दसैँकै नाममा विकृति फैलाउनुहुँदैन । बदलिएको परिप्रेक्ष्यमा हामीले दसैँ र अन्य चाडपर्वलाई कसरी मनाउने र हाम्रा सन्तान र नातिनातिनालाई परम्परा र सांस्कृतिक मूल्य–मान्यता कसरी हस्तान्तरण गर्ने भन्ने बारेमा सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।