अर्थमन्त्री युवराज खतिवडाको राजश्व संकलन लक्ष्य 'बेढंगको काम'

काठमाडौं– १४ फागुनमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको केहीपछि डा. युवराज खतिवडा याक एन्ड यति होटलमा राजश्व विभागले आयोजना गरेको एउटा कार्यक्रममा सहभागी थिए । 

उनलाई स्वागत गर्न त्यहाँ विभागका अधिकारीले फूल दिए, माला पहिराइदिए । मन्चमा आसिन भएपछि उनलाई अथितिको ब्याज पनि लगाइयो ।  

आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णु नेपाल त्यति बेला अर्थमन्त्री खतिवडाको नजिकै थिए । कार्यक्रम सुरु भइसकेको थियो । खतिवडाले मन्चमा नै नजिकका अरुले सुन्ने गरि नेपालको झाँको झारे– तपाईंहरु वाहियात खर्च गर्नुहुन्छ, तोकिएको राजश्व पनि उठाउन सक्नुहुन्न, यो माला र ब्याजमा किन यति धेरै खर्च गरेको ? 

कार्यक्रममा नेपाल र खतिवडाकै छेउमा भएका एक अधिकारीले खतिवडालाई उद्धृत गर्दै भने– यो माला किन किनेको, यो गुच्छा किन ल्याएको, यसले खर्च बढेन ? 

काठमाडौंको महंगामध्ये एउटा होटलमा लन्चसहितको कार्यक्रममा सहभागि थिए, अर्थमन्त्री खतिवडा । तर, उनलाई चिन्ता फूलको गुच्छा र मालामा गरिएको खर्च, अतिथिका लागि बनाइएको कागजको ब्याजमा भएको खर्चको थियो । 

त्यो कार्यक्रममा सहभागीले खतिवडाको त्यो व्यवहारलाई नराम्रोसँग लिए । 



पछिल्ला केही महिना यता पनि अर्थमन्त्री खतिवडाले राजश्वका अधिकारीसँग गरिरहेका व्यवहारलाई त्यहाँ सकारात्मक रुपमा लिइएको छैन ।

किनकि उनले दिएको लक्ष्यअनुसार राजश्व संकलन हुन सकेको छैन । फागुन मसान्तसम्म पनि लक्ष्यअनुसार राजश्व संकलन नभएपछि राजश्व सचिव र अन्य अधिकारीसँग बसेर खतिवडाले थप कडा नीति लिने योजना बनाएका छन् । 



महालेखा नियन्त्रक कार्यालयका अनुसार ४ चैतसम्म राजश्व वापत ४ खर्ब १ अर्ब उठेको छ । यो लक्ष्यभन्दा कम हो । फलस्वरुपः अर्थमन्त्री खतिवडाले राजश्व चुहावट नियन्त्रण उच्चस्तरीय समितिको बैठक बोलाए । 

अब उनी ठूला आयातकर्ताको गोदाममा गएर नै अनुगमन गर्ने निष्कर्षमा पुगेका छन् । ‘यो त खासमा ती आयातकर्ताको स्टक चेक गर्ने सिलसिला मात्र हो,’ अर्थमन्त्रालयका एक अधिकारीले भने, ‘यसले राजश्व संकलनमा पक्कै पनि सकारात्मक नतिजा ल्याउनेमा अर्थमन्त्री र अन्य अधिकारी सहमत हुनुहुन्छ ।’

तर, अर्कोतिर राजश्व विभागका अधिकारी भने अर्थमन्त्री खतिवडाको यो कदमबाट सन्तुष्ट छैनन् । एक अधिकारीले फरकधारसँगको कुराकानीमा भने, ‘खासमा अर्थमन्त्री खतिवडाले करको दायरा बढाउनु पर्ने हो, तर उनी रकम बढाउनमा मात्र केन्द्रित भएका छन् ।’ 

‘यो कदापि ठिक कदम होइन,’ ती अधिकारीले भने, ‘यसले विभागमा एक किसिमले तनाव त बढाएको छ, अर्कोतिर सरकारले लिएको लक्ष्य पूरा हुनेमा पनि आशंका गर्ने आधार बनाएको छ ।’

‘यो अर्थमन्त्री खतिवडाको बेढंगको काम हो,’ उनले भने, ‘खतिवडा सधैं टार्गेटको कुरा मात्र गर्छन् तर दायरा बढाउनेबारे सोच्नै सक्दैनन् ।’ यही कारणले पनि ठूला करदाता अहिले थप तनावमा परेको उनी बताउँछन् ।

  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार २०:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया