गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्माले नेतृत्व गरेको समूहले आधिकारिकताको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ ।
अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेस गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरू आधिकारिक रहेको दाबी गरेको हो । उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ ।
परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीको नामावली पेस गरिएको छ ।
आधिकारिकताको दाबी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ । निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको शून्य मत आएपछि त्यतिबेला अध्यक्षका अरू दुईजना उम्मेदवार आरके शर्मा र महेशकुमार श्रेष्ठले मत परिणाम स्वीकार नगर्ने घोषणा गरेका थिए ।
सुरुमा विवादको छानबिन गर्न सहमति जनाएर एकाएक निर्वाचन समितिका एक सदस्यबाट बद्री केसीलगायतले शपथ लिएपछि ललितपुरको होटेल हिमालयमा बन्दसत्र गरेर आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो ।
आरके शर्मा समूहले अर्को समूहले धाँधली गरेर मत परिणाम प्रभावित पारेकाले आफूहरूले नमान्ने बताउँदै आएको छ । परराष्ट्रमा निवदेन दर्ता गराएपछि शुक्रबार कार्यालय समय सकिएकाले आइतबार मात्रै बालुवाटार जाने तय भएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।