साझाबाट डोलिन्द्रले राजीनामा दिए, अब उनीमाथि अनुसन्धान हुन्छ कि हुँदैन ?

काठमाडौं– साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्र शर्माले राजीनामा दिएका छन् । उनको राजीनामा पनि मंगलबार बसेको साझा प्रकाशनको सन्चालन समितिको बैठकले स्वीकृत गरिसकेको छ । 

यसअघि शर्माले संस्थाको हितविपरित काम गरेको भन्दै उनीमाथि स्पष्टिकरण सोधिएको थियो । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उनलाई स्पष्टिकरण सोधेलगत्तै मन्त्रालयमा तानेकी थिइन् । 

आफ्नै व्यक्तिगत प्रकाशन गृह चलाएर बसिरहेका शर्माले साझाबाट प्रकाशन हुनु पर्ने पुस्तकहरु पनि आफ्नै प्रेसमा ल्याएर छापेको, साझाबाट पुस्तक कम प्रकाशन गरेर बाँकी पुस्तकहरु आफ्नो प्रिन्टिङ हाउसबाट छापेको, साझाका कर्मचारीहरुसँग समन्वय गर्न नसकेको आरोप लागेको थियो । 

उनले अनियमितता गरेको पुष्टि भएसँगै गत असोजमा शिक्षा तथा प्रविधि मन्त्रालयले उनलाई बर्खास्त गरेको थियो । त्यसपछि उनी अदालत पुगेका थिए । अदालतले उनलाई तत्काल बर्खास्त नगर्नु भन्ने आदेश दियो । त्यसपछि पुनबहाली भएका शर्माले आफूलाई मन्त्रालय तान्ने निर्णयविरुद्ध पनि रिट दिएका छन् ।

त्यसो त डोलिन्द्र यसअघि पनि बारम्बार विवादमा तानिएका व्यक्ति हुन् । केही राजनीतिक दलका नेतासँगको राम्रो सम्बन्ध बनाएर उनले साझामा गैरकानुनी काम गर्दै आएको आरोप पनि त्यहाँका कर्मचारी लगाउँछन् । त्यसअघि उनको अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनले नक्कली पुस्तक छापेको आरोपमा उनले जेल सजाय पनि भोगिसकेका थिए । 

‘उनले त राजीनामा दिए,’ साझाका एक कर्मचारीले भने, ‘तर, अब उनीमाथि छानबिन हुन्छ कि हुँदैन भन्ने महत्वपूर्ण कुरा हो । राजीनामा दिँदैमा गरेका नराम्रा कामबाट उन्मुक्ति कसैले पाउनु हुँदैन ।’ 





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार ७:४८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया