Wed, 26 Jun, 2019


कस्तो हुन्थ्यो २००७ सालअघिको होली ?
गौरिनाथ रिमाल
फरकधार / चैत ६, २०७५

गौरिनाथ रिमाल
 



अहिले त होली निकै परिवर्तन भइसकेको छ । हुन त होली मात्र होइन, देशको राजनीतिक अवस्था र अन्य आयामहरु पनि परिवर्तन भएका छन् । तर, फर्केर हेर्दा त्यति बेलाको होली अहिलेको जस्तो थिएन, त्यति बेला त हामी होलीभन्दा पनि बढी फागू खेल्थ्यौँ । 

२००७ साल अगाडिको कुरा । देशमा राणाशासन थियो । फागूको रौनक अर्कै हुन्थ्यो । म त केटाकेटी नै थिएँ, त्यसैले होली खेल्न बाहिर खासै जान पाउँदिनथेँ । आफ्नो टोलभन्दा बाहिर गएर मैले होली खेलेको त्यति ठूलो सम्झना छैन । अहिले त मानिसहरु होली खेल्न काठमाडौंको एउटा कुनाबाट अर्को कुनामा पुग्छन् । तर, त्यति बेला अवस्था त्यस्तो थिएन । हामी त आफ्नै टोलमा साथीभाइ जम्मा हुन्थ्यौँ अनि होली खेल्थ्यौँ । 

त्यति बेला अहिलेको जस्तो पिच्करी थिएनन् । हामी बाँसको ढुङ्ग्रो काटेर पिच्करी बनाउने गथ्र्यौँ अनि एकअर्कालाई पानी छ्यापाछ्याप गथ्र्यौँ । 

अनि फागू रंगहरुको चाड भए पनि त्यति बेला अहिलेको जस्तो रंगहरु किन्न पाइँदैनथ्यो । हामीसँग जम्म दुई रंग हुन्थे– नीर अर्थात् निलो र अबिर अर्थात् रातो । त्यही नीर र अबिरलाई मिक्स गरेर हामी पानीमा हाल्थ्यौँ, अरुलाई छ्याप्थ्यौँ । साथीभाइ साथीभाइबीच चाहिँ हामी रंग पोतेर रमाइलो गथ्र्यौँ । 

अहिले त सडकमा हिँड्दा लोला हान्छन् । ऊबेला कहाँबाट पाउनु लोला ? लोला त धेरै पछि मात्र सुरु भयो ।

पछिल्ला वर्षमा होलीमा वसन्तपुरमा रमाइलो गरेको पाएको छु । त्यति बेला पनि वसन्तपुरमा रमाइलो त हुन्थ्यो तर मलाई परिवारबाट त्यहाँ जान खासै दिनुहुन्थेन । त्यसैले म त्यहाँ जाँदिनथेँ । तर, त्यहाँ लिङ्गो गाडिन्छ, त्यसलाई ढलाइन्छ र रमाइलो गरिन्छ भन्ने चाहिँ मैले पनि सुनेको थिएँ ।

अनि आजभोलि मैले होलीमा विदेशीहरु पनि रमाएको देखेको छु । तर, त्यति बेला कहाँ विदेशीहरु थिए र ? नेपालमा विदेशी भनेका त्यही बेलायती दूतावासका कर्मचारी थिए । थोरै मात्रामा भारतीय आएका थिए । तर, काठमाडौंमा नै भए पनि भारतीयहरु हामीले मनाउने दिनमा होली मनाउँदैनथे, भोलिपल्ट मात्र मनाउँथे । होलीमा विदेशी देखिनु त दुर्लभ जस्तै थियो । फेरि त्यति बेला विदेशी होलीमा मात्र होइन, अरु समयमा पनि खासै देखिँदैनथेँ । 

त्यति बेलाको होली सम्झँदा सबैभन्दा रमाइलो चाहिँ अफिसरहरुले गर्थे । सैनिकहरुको होली विशेष हुन्थ्यो । 

उनीहरु महाराजकहाँ गएर होली मनाउँथे । हामीलाई महाराजकहाँ जान अनुमति थिएन, सहज पनि थिएन । तर, हामी उनीहरु हिँडेको बाटोमा देख्थ्यौँ । सबैजनाले सेता कपडा लगाएका हुन्थे । सिल्कका सेता कपडा लगाएर उनीहरु महाराजकहाँ पुग्थे, होलीकै लागि बनाइएका हुन्थे ती कपडा । 

जे होस्, त्यति बेला कहिल्यै पनि होली खेल्न हामी टोलबाट बाहिर जाने गर्दैनथ्यौँ । घरकै ढोकामा बसेर बाटोमा हिँड्नेहरुलाई पिचकरी हान्थ्यौँ । साथीहरुलाई त्यही पानी छ्याप्थ्यौँ, त्यसैमा रमाइलो गरिन्थ्यो । 

त्यति बेला पनि होलीमा काठमाडौंमा कसैकसैले भाङ खाने गर्थे । भाङलाई दूधमा घोटेर पकाएर खाने चलन थियो । पछि मैले बनारसमा पनि होलीको समयमा त्यसरी भाङ खाएको देखेँ । तर, हामी केटाकेटीलाई घरबाट नै त्यस्तो गर्न दिइँदैनथ्यो । 

आजभोलि त्यस्तो घोटुवा खाएर गीत गाउँदै होलीमा पनि नाच्ने गरेको मैले देखेको छु । तर, त्यतिबेला त्यस्तै हुँदैनथ्यो । हामीले टोलमा कसैले पनि त्यस्तो गरेको देखेका थिएनौँ । 

काठमाडौंमा त्यस्तो नगरे पनि पश्चिम नेपालतिर र तराइमा हामीले धुमधामले फागू मनाएका छन् भन्ने सुन्ने गरेका थियौँ । काठमाडौंमा चाहिँ प्रजातन्त्र आएपछि मानिसहरु खुलेर होली मनाउन थालेका हुन् । नत्र पहिले यसरी बाहिर सडकमा निस्किएर होली मनाउने प्रचलन थिएन । सबैभन्दा बढी गर्ने भनेको साथीभाइ मिलेर एउटा सानो ग्रुप बनाएर त्यही ग्रुपमा नै रमाउने चलन थियो । 

पछि आइएससी सकेपछि म पढ्न भारत गएँ । त्यहाँ हुँदा हामी होस्टलमा बस्थ्यौँ, कलेजमा साथीहरुसँग रमाइलो गरेर होली मनाइथ्यो । 

अर्को कुरा काठमाडौंमा आजभोलि साँझसम्मै होली मनाइन्छ । तर, त्यति बेला काठमाडौंमा एकैछिनमात्र होली मनाइन्थ्यो । उता, बनारसमा भने अलिक अबेरसम्म होली मनाइन्थ्यो ।

अहिले त समय फेरिएको छ, अहिलेको होली फेरिएको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्