logo-img

रोमाञ्चक बन्यो विश्वकप सेमिफाइनल दौड, दुई स्थानका लागि चार टिमबीच प्रतिस्पर्धा

भारतमा अहिले आइसिसी एकदिवसीय विश्वकप क्रिकेट जारी छ । लिग चरणको खेल सकिनै लाग्दा आयोजक भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा गरिसकेका छन् । अब सेमिफाइनल पुग्ने दुई टिमको टुंगो लाग्न बाँकी छ । 

दुई स्थानका लागि अहिले अस्ट्रेलिया, न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीव्र प्रतिस्पर्धामा छन् ।

यी चारमध्ये अस्ट्रेलिया र न्यूजिल्याण्ड सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । पाँचपटकको विश्वकप विजेता अस्ट्रेलियाले अब अफगानिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । ऊ एउटा खेल जिते पनि सेमिफाइनल पुग्ने देखिन्छ । 

यस्तै, न्यूजिल्याण्डले अन्तिम खेलमा श्रीलंकाको सामना गर्ने तालिका छ । यदि श्रीलंकालाई हराउन सके न्यूजिल्याण्डको सेमिफाइनल सम्भावना कायमै रहनेछ । यता पाकिस्तान सेमिफाइनल पुग्न डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डविरुद्ध जित्नैपर्ने दबाबमा छ । अहिले अस्ट्रेलिया तेस्रो, न्यूजिल्याण्ड चौथो, पाकिस्तान पाँचौं र अफगानिस्तान छैटौँ स्थानमा छन् । 

इंग्ल्याण्ड, नेदरल्याण्ड्स र बंगलादेश भने सेमिफाइनल दौडबाट बाहिरिसकेका छन् ।



विश्वकप सकिनै लाग्दा यसपटक भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियामध्ये एक टिमले उपाधि जित्ने संकेत देखिएको छ । यी तीनमध्ये भारतको सम्भावना बढी छ । उसले वर्षौंपछि विश्वकपमा सानदार प्रदर्शन गरिरहेको छ । भारत जारी विश्वकपमा ८ खेल खेल्दा अपराजित छ ।



विशेषगरी यस विश्वकपमा भारतीय बलरले लोभलाग्दो प्रदर्शन गरिरहेका छन् । घरेलु मैदानमा पनि खेलिरहेकाले भारतको विश्वकप जित्ने सम्भावना बलियो रहेको हो । भारतले सन् २०११ यता एकदिवसीय विश्वकप उपाधि हात पार्न सकेको छैन । ऊ ‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने उखानलाई यसपटक चरितार्थ गर्ने दाउमा छ । 

यता उच्च लयमा रहेको अर्को टिम दक्षिण अफ्रिका पहिलोपटक विश्वकप ट्रफी जित्ने योजनामा छ । हालसम्म फाइनलसम्म पुग्न नसकेको दक्षिण अफ्रिकालाई यसपटक ‘चोकर’ को कलंक हटाउने मौका छ ।

ऊ धेरैपटक सहज मानिएको खेलमा हार बेहोर्दै विश्वकपबाट बाहिरिएको उदाहरण छ । जारी विश्वकपमै दक्षिण अफ्रिकाले ठूला टिमलाई सहजै हराउँदा तुलनात्मकरूपमा कमजोर मानिएको नेदरल्याण्ड्ससँग भने अप्रत्यासित पराजय बेहोर्‍यो । सेमिफाइनलमा पनि सो गल्ती दोहोर्याएका फाइनल पुग्ने उसको सपना फेरि समाप्त हुनसक्छ ।  

यस्तै, सर्वाधिक पाँचपटकको विश्व च्याम्पियन अस्ट्रेलियाले अन्तिमपटक सन् २०१५ मा उपाधि जितेको थियो । उत्कृष्ट कमब्याक गरेको ऊ ८ वर्षपछि एकदिवसीय विश्वकपको उपाधि हात पार्ने योजनामा छ ।

सेमिफाइनल दाबेदार अर्को टिम न्यूजिल्याण्डले भने लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा पनि उपाधि जित्न सकेको छैन । 

यस्तै, पाकिस्तानले सन् १९९२ मा विश्वकप जितेको थियो । त्यसयता भने ऊ उपाधि जित्न सकेको छैन । पछिल्लो खेलमा सानदार प्रदर्शन गरेको पाकिस्तान यसपटक वर्षौंपछि उपाधि जित्ने मनसायमा छ । यद्यपि उसको सेमिफाइनलसम्म पुग्ने यात्रा नै कठिन छ ।  

  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया