logo-img

फूल र मालाको आयात बन्द गर्न व्यवसायीको माग, सरकार भन्छ– रोक्ने कुनै आधार छैन

पुष्प व्यवसायीले फूल र मालाको आयात बन्द गर्न माग गरे पनि सरकारले स्वदेशी फूललाई बेवास्ता गर्दै भारतीय फूललाई प्रोत्साहन गरेको छ । नेपालमै प्रशस्त मात्रामा फूल उत्पादन हुँदाहुँदै सरकारले ठूलो मात्रामा फूल आयातको अनुमति दिएको हो । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले कात्तिक १५ गते भारतीय सयपत्री फूलमाला आयात गर्न नौवटा अनुपतिपत्र जारी गरेको छ । सरकारले भारतबाट सयपत्री फूलमालाको आयात अनुमति दिएसँगै स्वदेशी फूलको बजार गुम्ने नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङ बताउँछन् । 

उनका अनुसार सरकारले अनुमति दिएसँगै ५० हजार किलोका माला बजार मूल्यअनुसार १२ करोड ५० लाख रुपैयाँमा आयात हुने भएको छ । सरकारले स्वदेशी उत्पादनलाई बेवास्ता गर्दै चार लाख ५० हजार किलो सयपत्रीको माला आयात गर्न अनुमति दिएको उनको भनाइ छ । एक किलोमा पाँचवटा माला हुन्छ । योसँगै चार लाख ५० हजार किलोमा झण्डै २५ लाख सयपत्री फूलको माला आउँछ । जसबाट नेपाली उत्पादनले बजार नपाउने निश्चित भएको फ्यानका अध्यक्ष तामाङ बताउँछन् । ‘भारतबाट माला आयातको अनुमति दिएसँगै नेपाली फूलले बजार पाउँदैन,’ उनी भन्छन्, ‘योसँगै नेपाली किसान पुष्प खेती र व्यवसायबाट पलायन हुने खतरा उत्पन्न भएको छ ।’

उनका अनुसार स्वदेशी किसानले यो वर्ष तिहारमा ३० लाखभन्दा बढी संख्यामा सयपत्री फूलको माला बजारमा ल्याउने तयारी गरेका छन् । फ्लोरिकल्चर एसोसिएसन संघका अनुसार यस वर्ष तिहारमा करिब ४० लाख सयपत्री माला खपत हुने अनुमान छ । त्यस्तै, चार लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार मिक्स माला खपत हुने फ्यानका अध्यक्ष तामाङको भनाइ छ । उनी भन्छन्, ‘यस वर्ष ४० लाख माला खपत हुने प्रारम्भिक अनुमान छ, ३५ लाख स्वदेशी उत्पादनले पुग्छ भने पाँच लाख माला आयात गर्नुपर्ने देखिन्छ ।’

यो वर्ष स्वदेशी फूलले नै पुग्ने देखिए पनि तिहार ढिलो हुँदा करिब पाँच लाख फूल आयात गर्नुपर्ने बाध्यता छ । यस्तै, बर्सेनि १०–१५ प्रतिशत माग बढ्दै गएको हुनाले अझै पनि तिहारका लागि फूल आयात गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । कोरोनापछि फूल व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको भन्दै उनले माग पनि बढेकाले स्वदेशी उत्पादनले पुग्न नसकेको बताए । 



‘कोरोनापछि बिस्तारै फूल खेतीप्रति किसानको आकर्षण बढ्दो छ,’ उनी भन्छन्, ‘यो वर्ष मात्र सयपत्री फूलमा दुई सय हेक्टरभन्दा बढी क्षेत्रफल विस्तार भएको छ । त्यो पनि विदेश गएर सीप सिकेर फर्केका युवाले ठूलो मात्रामा लगानी गरेका छन् ।’ त्यसैले भारतीय फूल आयातलाई रोक्न किसानहरूले माग गर्दै आएका छन् । 

यसका लागि फ्यानको अगुवाइमा नेपाली पुष्प किसान र व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र गृह मन्त्रालयका अधिकारीसँग पटक–पटक छलफल पनि गरेको थियो । छलफलको निष्कर्षअनुसार सरकारले तिहारलक्षित गरेर भारतीय फूल आयातमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । कृषि विकास निर्देशनालयको पुष्प विकास केन्द्रले १ कात्तिकदेखि अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयातका लागि सिफारिस नगर्ने भनी सूचना जारी गरेको थियो ।



तर, कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले कात्तिक १५ गते भारतीय सयपत्री फूलमाला आयात गर्न नौवटा अनुपतिपत्र जारी गरेको छ । ‘सरकारसँग भारतीय फूल आयात प्रतिबन्धको माग गर्दै पटक–पटक छलफल र ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ भएन,’ अध्यक्ष तामाङ भन्छन्, ‘सरकार स्वदेशी किसानलाई प्रोत्साहन गर्नुभन्दा भारतीय आयातित पुष्प र किसानलाई प्रोत्साहन गर्ने नीति लियो । नेपाली किसानको मर्का बुझेन ।’

उत्पादन लागत महँगो पर्ने हुनाले नेपाली फूलले भारतीय फूलसँग प्रतिस्पर्धा गर्न सक्दैन । बजारको मागभन्दा बढी माला सस्तो मूल्यमा आयात हुँदा नेपाली किसानले वर्ष दिन मिहिनेत गरी तिहारको लागि उत्पादन गरेको सयपत्री फूलले बजार नपाउने उनको तर्क छ । 
सरकारले अपुग हुने पाँच लाख गोटा माला मात्रै आयात गर्न अनुमति दिनुपर्ने उनीहरूको माग छ । तर, सरकारले २५ लाख गोटाका लागि आयात अनुमति दिँदा स्वदेशी किसानले उत्पादन गरेका ३० लाख गोटा मालाले बजार नपाउने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ ।

स्वदेशी पुष्प खेती र व्यवसायबाट ४४ हजार सर्वसाधारणले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । ४८ जिल्लाका एक हजार एक सय १६ जना किसानले व्यावसायिक रूपमा सयपत्रीसहित सबै प्रकारका फूलको खेती गर्दै आएका छन् । नेपालमा वार्षिक ६ अर्बभन्दा बढीको फूलको व्यापार हुने गरेको छ ।

किन आयात रोक्दैन सरकार ?

नेपालमा जतिसुकै फूल फुले पनि आयात रोक्न नमिल्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ)का सदस्य रहेका राष्ट्र र विभिन्न वाणिज्य नीतिका कारण निर्यात कुनै पनि देशले रोक लगाउन मिल्दैन । अझ भारतसँग छुट्टै व्यापार पारवहन सन्धि भएका कारण फूलको आयात रोक्न नमिल्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत सूचना अधिकारी महेशचन्द्र आचार्य बताउँछन् । 

‘हामीले कुनै पनि वस्तु आयातमा रोक लगाउन मिल्दैन,’ उनी भन्छन्, ‘प्रक्रिया पूरा गरेर जति पनि वस्तु ल्याउन पाइन्छ । सयपत्री फूलको हकमा स्वास्थ्य प्रमाणीकरण गरेर ल्याएका फूल आयात हामीले रोकेका छैनौँ र रोक्न पनि मिल्दैन ।’ 

सरकारले जारी गरेको ‘बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन’का आधारमा आयात अनुमति दिइएको उनी बताउँछन् । ऐनले कुनै पनि बिरुवा तथा बिरुवाजन्य चिजहरू स्वस्थ, रोग/किरामुक्त भए ल्याउन अनुमति दिने भन्ने कुरा उल्लेख छ । सोही बमोजिम आयातको अनुमति दिइएको उनी बताउँछन् । तर, अवैध रूपमा फूल आयात भने रोकिने उनी बताउँछन् । भन्छन्, ‘हामीले तिहारमा फूल पुग/अपुग छ/छैन भनेर हेर्ने होइन । हामीले हेर्ने भनेको नियमसंगत ढंगले मापदण्ड पूरा गरेर फूल आयात भएका छन् कि छैनन् । कुनै आयातकर्ताले ल्याउन चाहन्छ र सबै मापदण्ड पूरा गरेको छ भने हाम्रोले माग धान्न सक्छ, तपाईंले ल्याउन मिल्दैन भनेर रोक्ने कुनै आधार पनि नै छैन ।’

यस्तै, कोही व्यवसायी नेपालमा उत्पादित फूलले बजार धान्न नसक्ने भन्दै आयातको अनुमति दिन माग गर्दै कार्यालयमा आउने गरेको पनि उनको भनाइ छ । त्यसैले सरकारले कसैलाई पनि प्रोत्साहन तथा निरुत्साहन नगरेको भन्दै उनले नियम कानुनअनुसार नै काम गरेको उनको भनाइ छ ।

‘आजसम्ममा १८ जना व्यवसायीले डकुमेन्ट पूरा गरेका छन्,’ आचार्य भन्छन्, ‘सर्त पूरा गरे भोलि पनि फूल आयात गर्ने व्यवसायी थपिन सक्छन् । आयात रोक्ने हैसियत नेपालको कानुनले दिएको छैन । यदि सरकारले लेखेर आयात रोक्न निर्देशन दिन्छ भने हामी निर्देशन पालना गर्न तयार छौँ ।’ 

सरकारको पोलिसी नै विदेशबाट आयात गर्ने र नेपाली किसानलाई विस्थापित गर्ने रहेको पनि उनी बताउँछन् । भन्छन्, ‘कार्यालयका कुनै कर्मचारीले घुस खाएर आयातको अनुमति दिएको होइन । अन्तराष्ट्रिय व्यापार हो । निश्चित मापदण्ड हुन्छ, कानुन हुन्छ । त्यो सबै पूरा गर्नुपर्छ । सरकारले चाहे नीति नियम बनाएर आयात रोक्न सक्छ ।’

बर्सेनि कति भित्रिन्छ फूल ? 

नेपाल फूलमा आत्मर्निभर बन्न नसक्दा बर्सेनि करोडौँका माला भारतबाट आयात हुने गरेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार वार्षिक रूपमा नेपालले करोडौँ मूल्यको फूल आयात हुँदै आएको छ । पछिल्लो तथ्यांकले त्यस्तो आयात घट्दै गएको देखाए पनि अझै पूर्ण रूपमा आत्मनिर्भर हुन नसकेको देखाउँछ । 

गत आर्थिक वर्ष ०७९–०८० मा मात्रै ३३ करोड ६ लाखको फूल आयात भएको देखिन्छ भने नेपाली फूल तीन अर्ब सात करोड ८१ लाख बराबरको कारोबार भएको थियो । यस्तै, आर्थिक वर्ष ०७८–०७९ मा ३६ करोड पाँच लाखको फूल आयात हुँदा दुई अर्ब ३० करोड ३४ लाखको नेपाली फूल बिक्री वितरण भएको थियो । 

एसोसिएसनका अनुसार ०७७–०७८ मा ४० करोड सात लाखको फूल आयात हुँदा एक अर्ब ६३ करोड २४ लाखको नेपाली फूलको कारोबार भएको थियो भने आर्थिक वर्ष ०७६–०७७ मा २३ करोड सात लाखको फूल आयात हुँदा दुई अर्ब ४२ करोड २४ लाखको नेपाली फूलको कारोबार भएको थियो । 

फूलमा नेपाल आत्मनिर्भर बन्न नसक्दा भारत, थाइल्याण्ड, फ्रान्स, बेलायत, जापान, नामिबिया, इटालीलगायत मुलुकबाट आयात हुने गरेको छ । 

  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया