बढुवा सिफारिसका लागि सार्वजनिक सूचनापछि विवादमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उमेरको विषयमा छानबिन सुरु भएपछि उपरथी पाण्डेले राजीनामा दिएका हुन् ।
नेपाली सेनाको प्रधानसेनापति बनाउन रोलक्रममा राख्नकालागि रथी पद कालागि बढुवा सिफारिस गरिएका उपरथी पाण्डेको कीर्ते नागरिकता र विवादास्पद छविकाका कारण के उनी नेपाली सेनाको कमाण्ड सम्हाल्न उपयुक्त पात्र हुन् ? भन्ने गम्भीर प्रश्न उठीरहेका बेला उनले राजीनामा दिएका हुन् ।
पाण्डेले बिहीबार साँझ नै राजीनामा बुझाएको बताइएको छ । रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेपछि नागरिकतामा उमेर सच्याएको उजुरीसमेत परेको थियो । उक्त उजुरीमाथि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरु भएको थियो।
उपरथी पाण्डे २०४३ सालमा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका हुन् । त्यही बेला उनले २ वर्ष उमेर घटाएर नागरिकता बनाएर किर्ते काम गरे । तर उनले आफ्ना अरू सरकारी कागजातमा अर्कै जन्म मिति भएको हेक्का राख्न सकेनन् । २०२१ म जन्मिएका पाण्डेले २०४३ मा जागिर खाने बेला २२ वर्ष नाघेको हुनाले २१ वर्षमुनिको उमेर हदका कारण नागरिकतामा उमेर घटाएका रहेछन् ।
पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख छ । तर, नागरिकतामा भने किर्ते गरेर २०२३ साल मंसिर १३ गते बनाइएको छ ।
हालका सेनापति प्रभुराम शर्मापछि नेपाली सेनाको कमाण्ड सम्हाल्ने गरी रथीमा पदोन्नति सिफारिस भएका पाण्डेको बढुवा रोकी सैनिक ऐन तथा मुलुकी अपराध संहिताबमोजिम कारबाही गर्न माग गर्दै जंगी अड्डादेखि प्रधानमन्त्री, रक्षा र संसदको राज्य व्यवस्था तथा सुशासन समितिलगायतका निकायमा लिखित उजुरी परेको थियो ।
लिखित उजुरीमा सरकारी कागजात कीर्ते गरेको र उमेर घटाएर नागरिकता बनाई जागिर खाएको प्रमाण पेस गरिएको थियो । उजुरीमा पाण्डेमाथि मुलुकी अपराध संहिता र सैनिक ऐन २०६३ बमोजिम कीर्तेमा कारबाहीको माग गरिएको छ । पाण्डेको उमेर कीर्तेसम्बन्धी विवादबारे उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का जानकार रहेको स्रोत बताउँछ । उनको बढुवा मन्त्रीपरिषद्ले सदर गर्नुपर्ने प्रावधान छ ।
रथी पदका लागि पाण्डे र अशोकराज सिग्देल दाबेदार थिए । अर्का रथी सीताराम खड्काको पुस ३ गते उमेर हदका कारण अवकाश हुँदै छ । त्यसपछि सिग्देल रथीमा बढुवा हुने भएकाले उनीभन्दा सिनियर बनाउन पाण्डेलाई २ महिनाअघि नै बढुवा गर्न खोजिएको थियो ।
सेनामा पहिलो नम्बरका रथी नै प्रधान सेनापतिमा बढुवा हुने प्रचलन रहेकाले आगामी वर्ष भदौ २४ गते शर्मा अवकाश भएपछि सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख रहेका पाण्डेलाई प्रधान सेनापति बनाउन यस्तो चलखेल भएको भनिएकै बेला उनले राजीनामा दिएका छन् ।
सरकारी कागजात किर्ते गरेका कारणलेमात्र होइन, उनको कार्यशैली पनि सेनाभित्र विवादास्पद मानिन्छ । कमान्ड सञ्चालनमा उनी पटक पटक चुकेका छन् ।
हेर्नुहोस् यसै विषयमा तयार पारिएको भिडियो सामग्री :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।