काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्नेगरी काम गर्न कर्मचारीलाई आग्रह गरेकी छिन् ।
दोस्रो विश्व नापी दिवसको सन्दर्भमा आज नापी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जग्गा प्रशासनका सन्दर्भमा धेरै काम गर्न बाँकी रहेको भन्दै अब हरेक कुरामा प्रविधिको प्रयोग गरेर जानुपर्नेमा जोड दिइन् ।
‘अब हामीले हरेक चिजमा प्रविधिको प्रयोग गर्नुपर्छ,’ मन्त्री अर्यालले भनिन्, ‘नापीसँग जोडिएका प्रविधिलाई अधिकतम प्रयोग गर्ने र अझै बढी आधुनिक प्रविधिहरु भित्र्याएर भूमिलाई व्यवस्थित गरौँ ।’
अहिले कानुन बन्ने क्रममा रहेको बताउँदै मन्त्री अर्यालले भनिन्, ‘समग्रमा जग्गा व्यवस्थापनको कानुन बन्न सकेको छैन । हामी यसमा लागेका छौँ ।’
भूमि मन्त्रालय अन्तर्गतका कार्यालयहरुको छवि जनतामाझमा बिग्रिएको भन्दै मन्त्री अर्यालले बिग्रेको छवि सुधार गर्ने कुरामा आफू चिन्तित रहेको बताइन् । अहिले अप्ठ्यारो परिस्थिति रहेको उल्लेख गर्दै उनले ती कार्यालयहरुको शुद्धताका निम्ति सहयोग गर्न कर्मचारीलाई आग्रह गरिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।