साह १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ

गौशाला– महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ । 

गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा हिजो बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

फागुन २२ गते सुरेश साहकी आमा देवसुनर देवीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आफ्नो छोरा सुरेश साह अपहरणमा परेको निवेदन दिएपछि सोही दिनदेखि महोत्तरी प्रहरीले प्रहरी निरीक्षक दीपक चोरबारको कमाण्डमा खोजतलास गरेको थियो । 

सुरेश अपहरणमा परेपछि उनका भिनाजु अमरनाथ महतोलाई भारतीय नम्बरको मोबाइलबाट भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट फिरौती रकम लिएर आउन फोन आउन थाल्याे ।

यसपछि महोत्तरी प्रहरीले परिवारको जानकारीमा भारतीय प्रहरीको सहयोगमा मोबाइललाई पछ्याउँदै जाँदा उनलाई मैन्मा जङ्गल क्षेत्रमा बन्धक बनाइराखेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । 

साथै फिरौती रकम ल्याउन भनिएका नेपालकै बारा जिल्लाको कलैया नगरपालिका–१२ रामपुर बस्ने ५२ वर्षीय मुन्ना भन्ने सुरज चौधरी र काशी साहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने ५.५६ एमएमको गोली चार थानसमेत बरामद गरेको छ । 

अपहरणमा संलग्न दुवैलाई भारतीय प्रहरीले पक्राउ गरी भारतमै आवश्यक कारवाही अगाडि बढाएको छ भने अपहरणमुक्त भएका साहलाई बिहीबार नै उनका आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । 





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार ११:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया