बिग मर्जरको बेला भएकै हो ?

काठमाडौं– पछिल्लो समय नेपालको बैंकिङ तथा वित्तिय क्षेत्रमा बिग मर्जको चर्चा हुन थालेको छ । नेपाली अर्थतन्त्रको आकारअनुसार बैंकको संख्या धेरै भएको तर्क कतिपयको छ । 

गत महिना अर्थमन्त्री युवराज खतिवडा पूर्वाधार विकास बैंकको उद्घाटन कार्यक्रममा पनि नेपालका बैंक मर्जरमा जानुपर्ने विचार राखेका थिए । उक्त कार्यक्रममा, हस्तक्षेप गरेरभन्दा आफैं मर्जरमा जान बैंकलाई अर्थमन्त्रीले सल्लाहसमेत दिएका थिए । 

नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या मौद्रिक नीतिबाटै घटाएर १० देखि २० मात्रै पुर्याउने पनि चर्चा थियो । तर, अर्थमन्त्री सकारात्मक नभएकै कारण त्यो सफल नभएको बताइन्छ । पछिल्लो समय अर्थमन्त्रीले विभिन्न सार्वजनिक कार्यक्रममा गरेको सम्बोधनमा मर्जरको चर्चा गर्नुले उनी पनि मर्जरप्रति सकारात्मक भएको प्रष्ट हुन्छ । 

लामो समयदेखि नेपालको वित्तिय क्षेत्रमा तरलता समस्या देखिएको छ । बैंकहरुले अहिलेपनि त्यो समाधान नभएको बताउँछन् । परिणामस्वरुप बैंकबीच ब्याजदरमा प्रतिस्पर्धा नै चलेको छ । त्यसलाई समाधान गर्न विज्ञ अर्थमन्त्री खतिवडा समेत असफल देखिए । त्यसैले उनी बैंकको संख्या घटाउने पक्षमा देखिएका हुन सक्छन् । 

उता बैंकहरु मर्जरको पक्षमै छन् । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना बैंकहरु मर्जरमा जानुपर्ने बताउँछन् । तरलता समस्याप्रति संकेत गर्दै अध्यक्ष ढुङ्गानाले बैंक साइजको कारणले पनि त्यसलाई समाधान गर्न सकिने बताए । 

‘कर्जाको मागअनुसार निक्षेपको स्रोत र मात्रा नपुग्दा तरलता समस्या र ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भएको हो,’ उनले भने, ‘बैंकको साइजले गर्दा त्यो समाधान हुन्छ कि भन्ने हुनाले मर्जरको चर्चा भएको हो ।’ 



बैंकको संख्या धेरै भएकोले राष्ट्र बैंकलाई नियमन गर्न गाह्रो भएको उनले दाबी गरे । ‘सरकारले नीति नै ल्यायो भने बैंकहरुले नमान्ने भन्ने हुँदैन,’ उनले भने । 

राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी भने मर्जर गर्नैपर्ने भएपनि अहिले नै बेला नभएको बताउँछन् । ‘भखरै हामीले बैंकलाई ८ अर्ब पूँजी पुर्याउन भन्याैं, अहिले नै फेरि मर्जरमा जाउँभन्दा व्यवस्थापन गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘केही वर्ष बैंकलाई एउटा दिशा लिन दिने, त्यसपछि मात्रै मर्जरको प्रकृयामा जानुपर्छ ।’ तर, अहिले नै राष्ट्र बैंकले मर्जरको विषयमा कुनै धारणा बनाइनसकेको प्रष्ट पारे ।



बैंकर अनिल शाह पनि मर्जरकै पक्षमा देखिन्छन् । १२ वर्षअघि राष्ट्र बैंकले बैंक खोल्ने अनुमति दिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘१२ वर्ष अघिनै हामीले राष्ट्र बैंकमा गएर लाइसेन्स नदिनु, धेरै भएर प्रतिस्प्रर्धा र सुपरभिजन राम्रो हुँदैन भनेको हो । हामीले संख्या होइन साइज बढाउन त्यतिबेला नै भनेको हो ।’ 

‘उहाँहरुले, हैन प्रतिस्पर्धा देखेर किन डराउनु भएको, बढि बैंक भए राम्रो हुन्छ, दुर–दराजमा पनि बैंकहरु खुल्छन्, रोजगारीको पनि अवसर बढ्छ ठूला बैंकहरु डराउनु हुँदैन, नकारात्मक नहुनु भन्नुभयो,’ उनले थपे, ‘तर, अहिले आएर नेपाल राष्ट्र बैंक आफै‌ं बैंकको संख्या धेरै भयो भनिरहेको छ, म १२ वर्ष अगाडि जहाँ थिए, राष्ट्र बैंक अहिले बल्ल त्यहाँ पुगेको छ । हो, बैंकहरुको संख्या भन्दा साइजमा फोकस हुनुपर्छ ।’

शाह बैंकहरुको भर्टिकल मर्जर हुनुपर्नेमा जोड दिन्छन् । ‘बिग वा स्मल मर्जर भन्दा भर्टिकल मर्जर भए झनै राम्रो हुन्छ,’ उनले भने । मर्जरमा जानुपर्ने बताउने ढुङ्गाना फोर्स मर्जरको पक्षमा भने देखिएनन् । 

कानुनी रुपले पनि फोर्स मर्जरको बाटो सजिलो नभएकोले बैंकलाई प्रोत्साहित गरेर मर्जरमा लैजानुपर्ने उनको सुझाव थियो ।  बैंकको संख्या धेरै भयो भनेर भन्दा पनि उद्देश्य बनाएर मर्जरमा जानुपर्ने धारणा राख्छन् ।

सरकार फोर्स मर्जरमा जानुपूर्व तयारी हुनुपर्ने शाह बताउँछन् । ‘मर्जरको लक्ष्य के हो ? बैंकको संख्या घटाउने मात्रै लक्ष्य हो ? संख्या घटेपनि के हुन्छ ? अहिले फोर्स मर्जरबाट बैंक घटेर १२–१३ मात्रै भए तर, त्यसैले समस्या ल्यायो भने ? हाम्रो लक्ष्य त्यही हो ?’ शाह प्रश्न गर्दै भन्छन्, ‘संख्या घटाउने भन्दा पनि त्यसको एउटा लक्ष्य हुनपर्छ, त्यो त बाटो मात्रै हुनुपर्छ ।’

कति बैंक आवश्यक ?

नेपालमा पहिलो बैंकको रुपमा नेपाल बैंक लिमिटेड खुलेपछि विस्तारै बैंकको संख्या थपिदै गए । कुनै बेला ३२ वटा वाणिज्य बैंक भएपनि अहिले २८ वटा मात्रै छन् । त्यसैले प्रश्न उठ्छ त्यसो भए नेपालको अर्थतन्त्र धान्न सक्ने बैंकको संख्या कति हो ?

अध्यक्ष ढुङ्गाना बैंकको संख्या यति हुनुपर्छ भन्ने नियम नभएको बताउँछन् । ‘अहिलेको संख्याभन्दा कम हुँदा पनि हुन्छ, सुपरभिजन सजिलो हुनेगरि घटाउनु पर्छ,’ उनले भने । 

अनिल शाह ठट्टा गर्दै सबै बैंकले एउटै कस्टमरलाई सेवा दिने हो भने एउटै बैंक भएपनि हुने बताउँछन् । ‘नयाँ–नयाँ मार्केट खोज्ने, नया–ँनयाँ सेवा दिन खोज्ने हो भने १२ –१३ वटासम्म ठिकै हो,’ उनले भने । 

उनले संख्या कम गर्नका लागि भन्दा वित्तिय क्षेत्रले नेपालको अर्थतन्त्रको वृद्धिमा सहयोग हुने गरि संख्या बनाउनु पर्छ । उनले थपे, ‘वित्तिय संस्था किन चाहियो भन्ने थाहा भएपछि मात्रै कति, कस्तो, भन्ने प्रश्नको उत्तर निस्कने हो,’ उनले भने । 

  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार १२:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया