logo-img

प्रधानमन्त्री कुलपति हुने व्यवस्था अव्यवहारिक छ, विकल्प खोजौँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च शिक्षालाई दलगत राजनीतिको प्रत्यक्ष क्रिडास्थल हुन नदिन प्रधानमन्त्री सबै विश्वविद्यालयहरूको पदेन कुलपति हुने व्यवस्था अव्यवहारिक भएको र त्यसको विकल्प खोज्नुपर्ने बताएका छन् । 

काभ्रेको धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनमा दाहालले नेपालको उच्च शिक्षा वास्तवमै चुनौतीपूर्ण संघारमा उभिएको स्वीकार गरे ।  

नेपालको विश्वविद्यालयमा गुणस्तरीय प्राविधिक एवम् व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवम् डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठूलो लगानी आवश्यक भएको उनले बताए । त्यसका लागि राज्यले गर्ने लागनी पर्याप्त नभएको उनले स्वीकार गरे । 

विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार जेहेन्दार युवाहरू नै मुलुक छोडेर बाहिरिइरहेको अवस्थामा अहिलेको शैक्षिक चुनौतीलाई विश्वविद्यालयहरूले पनि सुधारको अवसरको रूपमा लिनुपर्नेमा जोड दिएका उनले राजनीति मुक्त विश्वविद्यालय बनाउनमा सबैको साथ आवश्यक भएको बताए । 

‘उच्च शिक्षालाई प्रत्यक्ष दलगत राजनीतिको क्रिडास्थल हुन दिन नहुने प्रस्ताव वास्तवमा नै कार्यान्वयन गर्न मुलुकका सबै प्रमुख राजनीतिक दलहरूको पहल, सहकार्य र समान सोचको आवश्यकता छ । प्रधानमन्त्री सबै विश्वविद्यालयहरूको पदेन कुलपति हुने व्यवस्था निश्चय नै अव्यवहारिक छ । तर त्यसको विकल्प खोज्दा विश्वविद्यालयहरूको नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम सञ्चालनसम्म कुनै निहित स्वार्थयुक्त समूहको जकडमा नपरुन् भन्नेतर्फ पनि उत्तिकै सजग हुन आवश्यक छ । विश्वविद्यालयहरू आफ्नै स्रोत साधनबाट सञ्चालन हुन सक्ने हुँदा नयाँ विकल्प खोज्न सक्नेछन्’ दाहालले भने ।

काठमाडौं विश्वविद्यालयले आगामी महिना आयोजना गर्न लागेको एसोसिएसन अफ इण्डियन युनिभर्सिटिजको उत्तरपूर्वीय क्षेत्रका २ सय ५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिहरूको सम्मेलनको तयारी र त्यसमा प्रस्तुत गर्ने नेपालको राष्ट्रिय धारणा बनाउन आजको उपकुलपतिहरुको सम्मेलनले सहयोग पुग्ने दाहालले धारणा राखे । 



चुनौतीपूर्ण सँघारमा उभिएको नेपालको उच्च शिक्षालाई सुधारेर नेपालमा सम्भव हुने योग विज्ञान, प्राकृतिक चिकित्सा, हिमालय क्षेत्रको पर्यावरण र जलवायु परिवर्तनको अध्ययन, बौद्ध शिक्षा, पूर्वीय वास्तुकला र दर्शन आदि विषयलाई उच्च शिक्षामा समावेश गर्नुपर्ने दाहालको भनाई छ ।  



  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया