प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
आज बालुवाटारमा पूर्वाञ्चल विश्वविद्यालयको ३७ औँ सभा–बैठकलाई सम्बोधन गरेका दाहालले देशका सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्न सक्ने चुनौती र समस्याहरूको समाधानका लागि सोच्नुपर्ने धारणा राखे । सो कार्यक्रममा उनले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विश्वविद्यालय जानुपर्नेमा जोड दिए ।
उनले भने, ‘विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्छ ।’
विश्वविद्यालयहरू सैद्धान्तिक ज्ञान दिने मात्र नभई विद्यार्थीहरूलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यावसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्न सक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने सिर्जनशील जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै उनले विश्वविद्यालयमा समय परिवेश सुहाउने शैक्षिक वातावरण निर्माणका लागि आवश्यक नीति निर्माणमा र परिमार्जनमा आफ्नो साथ रहने उल्लेख गरे ।
‘२१औँ शताब्दीको आवश्यकता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालयलाई समुदाय स्तरमा विस्तार गर्नु आवश्यक छ। यस सन्दर्भमा समुदाय स्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा परेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याहरूको समाधान र ऐनको समयाकुल परिमार्जन र संशोधनका लागि समेत नेपाल सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउन चाहन्छु’ उनले भने ।
उच्चशिक्षामा विकासको गतिलाई व्यापक बनाउँदै प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण र उपयोग, पर्यटन प्रवर्धन र कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोगमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयले केन्द्रित हुनुपर्ने दाहालले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।