logo-img

पर्यटकीय गन्तव्य बन्दै गएको रुपा तालमा हुँदै छ मोती उत्पादनको तयारी
सूर्यको किरणसँगै पानीको रूपमा आइरहन्छ परिवर्तन

सात तालको बगैँचा सहरका रूपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपा ताल विश्व रामसार सूचीमा सूचीकृत छ । साबिक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्त्वपूर्ण आधार बन्दै गएको छ ।

तालको संरक्षण र विकासका लागि रुपा ताल संरक्षण एकीकृत विकास परियोजना  मार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । परियोजना लक्षित काम सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयवासीको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।

चरणबद्ध अघि बढ्ने परियोजनाको लागत चार अर्ब ५२ करोड ८८ लाख रुपैयाँ रहेको परियोजनाका सूचना अधिकारी इन्जिनियर कृष्णबहादुर विकले जानकारी दिए । उनका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि ९९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म ७३७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ । हालसम्म मुआब्जा वितरणका लागि ८७ करोड ७८ लाख रुपैयाँ वितरण गरिएको छ ।

मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण कार्य भइरहेको छ । त्यस्तै जलाधार क्षेत्रमा पर्ने तीनवटा सिल्ट्रेसन ड्याम निर्माण गरिसकेको उनले जानकारी दिए । लक्षित योजनाअनुसार काम सम्पन्न भई बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उनले जानकारी दिए ।

परियोजनाअन्तर्गत हालसम्म भएका कामहरूमा वित्तीय प्रगति ४२ प्रतिशत र भौतिकतर्फ ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ । विसं २०३२ को नापीमा एक सय ३६ हेक्टर क्षेत्रफलमा फैलिएको ताल अहिले एक सय सात हेक्टरमा खुम्चिएको छ । विसं २०६४ को केन्द्रीय नापी टोलीको तथ्याङ्कअनुसार रूपा तालको आठ सय रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै साबिक लेखनाथ नगरपालिकाको पछिल्लो प्रतिवेदनमा रुपा तालको कूल क्षेत्रफल १६३.९ हेक्टर रहेकोमा जलमग्न भाग १२१.७६ खेती भएको ३३.४३, सीमसार क्षेत्र ८.७५ हेक्टर र गहिराइ औसत ४.८ मिटर रहेको उल्लेख छ ।

लक्षित योजनाअनुसारको परियोजना सम्पन्न भएसँगै त्यसले तालको संरक्षण र यससँग जोडिएका जैविक विविधता, जलमा आश्रित जीवजन्तुको संरक्षण आदिमा महत्त्वपूर्ण योगदान पुग्ने पर्यटन व्यवसायी दामोदरभक्त थापाले बताए । सूर्यको किरणसँगै पानीको रूपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपा ताल रहन गएको स्थानीयवासी बताउँछन् । तालको मुख्य स्रोत तालबेंसी खोलाबाट वर्षातमा बगाएर ल्याउने माटो तथा काठपातका कारण बर्सेनि छ रोपनी ताल पुरिएको अध्ययनले देखाउँछ । 



अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रुपा ताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्ने काम भइआएको संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए । सहकारीले तालको संरक्षणसँगै मत्स्यपालन गरी आयआर्जन पनि गरिरहेको उनले बताए ।

रुपातालको अवलोकनका लागि पर्यटकहरू आउने क्रमसँग आसपासका क्षेत्रमा होटललगायतका पूर्वाधारहरू पनि विकास हुँदै गएको छ । रुपा ताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौँ पर्यटक रुपा ताल पुग्ने गरेका छन् ।



विसं २०५८ मा सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट संरक्षण र उपयोगमा जोड दिइएको छ । हाल सहकारीमा एक हजार १५ जना आबद्ध भइसकेका छन् । सहकारीअन्तर्गत माछा मार्नका लागि १० जना, चौकीदार चार जना र बैंकिङ कारोबारतर्फ तीन जना कर्मचारी कार्यरत छन् । तालबाट दैनिक करिब एक लाख रुपैयाँको माछा निकालेर विक्री वितरण गर्दै आइएको कर्मचारी रामजी अधिकारीले जानकारी दिए । 

ताल किनाराका जंगलमा खुल्ला चिडियाखाना

रुपा तालको जलाधार क्षेत्र आसपासका जंगललाई समेटेर खुल्ला चिडियाखाना सञ्चालनमा आइसकेको छ । पचभैया प्राणी उद्यान केन्द्रका रूपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा साबिक लेखनाथ नगरपालिकाका वडा नं ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । 

चिडियाखाना निर्माणका लागि स्थानीयवासीको चाहना र युनाइटेड क्लबको सहयोगमा यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको थियो । चिडियाखानाको व्यवस्थापन लगायतका विषयमा केही समय युनाइटेड क्लब र स्थानीयवासीबीच विवाद भए पनि उक्त विवाद समाधान भइसकेको छ । युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याउँदै आएको छ ।

चिडियाखानामा सर्वसाधारणलाई अवलोकनका लागि जालीको डोम निर्माण गरी जनावर र पक्षीहरू खुल्ला छाडिएको छ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनाका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावर कक्ष बनाउने दीर्घकालीन लक्ष्यसमेत राखिएको पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष एवम् पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले बताए ।

चिडियाखाना परिसर एवम् रुपा ताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जंगल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छ ।

पोखराबाट जम्मा २५ किमी टाढा रहेको यस चिडियाखानालाई गण्डकी प्रदेशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोच राखिएको छ । यसअघि २०३४/३५ सालतिर यस क्षेत्रमा जंगल ध्वस्त बन्दै गएको अवस्थालाई दृष्टिगत गरी स्थानीयवासीले तत्कालीन समयदेखि नै यसको संरक्षणको पहल थालेका थिए संरक्षण थालिएको झन्डै ४५ वर्षपछि खुल्ला चिडियाखानाका रूपमा केन्द्र सञ्चालनमा आएसँगै स्थानीयवासी हर्षित बनेका छन् । 

चिडियाखानामा हाल विभिन्न २१ प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी राखिएको अध्यक्ष ढकालले जानकारी दिए । यहाँ आउने पर्यटकले यहाँबाट तल रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् । चिडियाखाना सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिसकिएको छ । अवलोकनका लागि सर्वसाधारणलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ । चिडियाखानाको डिभिजन वन कार्यालयबाट व्यवस्थापन हुँदै आएको छ ।

रुपा तालमा मोती उत्पादन गरिने 

रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको थियो ।

सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गरिँदै आइएकामा यहाँका तालमा यसको उत्पादनको पर्याप्त सम्भावनालाई पुष्टि गरेको केन्द्रका प्रमुख डा. मोहम्मद इकवाल हुसेनले बताए । यहाँका तालहरूध्ये रुपातालमा मोती उत्पादन गर्न सकिने धेरै सम्भावना रहेका कारण उक्त योजनालाई अघि बढाइने उनको भनाइ छ । मोती  गरगहनाका साथै विभिन्न औषधिका लागि पनि प्रयोग हुन्छ ।

सिपी माछा जस्तै पानीमा पाइने जीव रहेको र यसले मोती उत्पादन गर्ने उनले बताए । नेपालमा बर्सेनि ठूलो सङ्ख्यामा मोती विदेशबाट आउने गरेको छ । एउटै मोतीको दुई हजार रुपैयाँसम्म पर्ने भएका कारण रुपातालमा मोती उत्पादन गरेर स्थानीयवासीको आयआर्जन बढाउन सकिने हुसेनले बताए । ‘मोती उत्पादनलाई लक्षित गरी हामीले चाँडै नै रुपा ताल पुनःस्थापना तथा मत्स्यपालन सहकारीका सदस्यलाई चार/पाँच दिनको तालिम दिने तयारी गरेका छौँ’, उनले भने, ‘तालिमसँगै यहाँका स्थानीयवासी मोती उत्पादनबाट पनि आफ्नो आयआर्जनलाई अघि बढाउन सक्नेछन् ।’ 

  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया