logo-img

कर्णालीबासीले केही वर्षभित्रै ढुक्कसँग विद्युत् बाल्न पाउनुहुनेछ : कुलमान घिसिङ
फाइल तस्बिर

जुम्लालगायत माथिल्लो कर्णालीका पाँचवटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ । 

प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा जुम्ला एक सय ३२ केभी सबस्टेसन निर्माण र जुम्ला तथा आसपासका जिल्लामा विद्युतीकरण विस्तार गर्ने तयारी गरिएको हो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुम्लामा राष्ट्रिय प्रसारण लाइनको विस्तार भइसकेको जानकारी दिए । 

‘नियमितरूपमा विद्युत् सेवा प्रवाह गर्न अति आवश्यक छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘जुम्लासम्म थप एक सय ३२ केभी प्रसारण लाइन विस्तार गर्न प्राधिकरण रातदिन लागिपरेको छ । यहाँका उपभोक्ताले केही वर्षपछि ढुक्कसँग विद्युत् बाल्न पाउनुहुनेछ ।’ 

हाल निर्माणाधीन सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइनको काम हुँदै गरेको कार्यकारी निर्देशक घिसिङले बताए । जुम्लामा सबस्टेसन निर्माण हुने ठाउँ तथा सबस्टेसनसँग जोडिने लाइनहरू र प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्नुको उद्देश्य र महत्वबारे कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । 

जुम्लाका संघीय सांसद ज्ञानबहादुर शाहीले जुम्लाको विद्युत् विस्तारलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । उनका अनुसार जिल्लाका सबै क्षेत्रमा विद्युत् सेवा प्रवाह हुन सकेको छैन । 



जुम्लासम्म एक सय ३२ केभी प्रसारणलाइनको विस्तार कार्य अगाडि बढाउन प्राधिकरणलाई ध्यानाकर्षण गरेको सांसद शाहीको भनाइ छ । कर्णालीमा ऊर्जा क्षेत्रमा लगानी गर्ने निजी क्षेत्रदेखि विभिन्न दातृ निकायलाई सांसद शाहीले अनुरोध गरे । 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्याले नाम मात्रको विद्युत् भएकाले नियमित रूपमा विद्युत् सेवा प्राधिकरणले दिन नसकेको गुनासो गरे । जुम्लाका आठ वटै स्थानीय तहका गाउँ गाउँसम्म राष्ट्रिय प्रसारण लाइन अझैसम्म पुग्न नसकेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतको भनाइ छ ।   



  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया