वलीसहित विप्लवसमूहका नौजना पक्राउ

काभ्रेपलाञ्चोक– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मध्यकमान्ड इन्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौजना नेता–कार्यकर्तालाई शनिबार बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । वलीले गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराउँदा एकजनाको मृत्यु तथा दुईजना घाइते भएको घटनाको जिम्मा लिएको प्रहरी स्रोतले बताएको छ । 

खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभ्रेपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७ च ४८९३ नं को स्कारपियो गाडीबाट वलीसहितका नेता–कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ । उनीहरूलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्युरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च अप्रेसन’का क्रममा पक्राउ गरेको हो । 

प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठमाडौँ जाँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शंकर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् । 

काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मंगलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । 

सो सर्च अप्रेसनका क्रममा वली भाग्न सफल भएका थिए । सरकारले गत फागुन ३० गतेदेखि विप्लव समूहका ध्वंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने क्रममा ओलीलगायत नेता कार्यकर्ता नियन्त्रणमा लिइएका हुन् । 





  • प्रकाशित मिति : चैत ९, २०७५ शनिबार १३:५९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया