Wed, 26 Jun, 2019


१०३ वर्षका वृद्धाश्रमका बा भन्छन् : जिन्दगीको भर छैन कहिले मर्ने हो...!
फरकधार / चैत ९, २०७५

काठमाडौं– बाँसबारीका १०३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले ८ वर्षको हुँदा बुबा महाप्रभु अधिकारीलाई गुमाए भने ११ वर्षमा आमा भक्तकुमारीलाई । उनी पशुपति वृद्धाश्रममा घाम तापेर बसिरहन्छन् । वृद्धाश्रममा जोसुकै मान्छे देखे पनि श्रीराम ! भन्छन् । मुसुक्क हाँस्छन् । टोपी मिलाएर लगाएका छैनन् । दाह्री फुलेका छन् । छाला मुजा परेका छन् । निधारमा चन्दन, हातमा लठ्ठी छ । लामबाउले कपडा, सुरुवाल र खुट्टामा चम्पल लगाएका छन् । उनी हँसिला छन् । रसिला छन् । 



उनीजस्तै वृद्धाश्रममा भेटिने सबैका आ–आफ्नै पीडा छन् । जिन्दगीमा फरक–फरक घटना बेहोर्दै जिन्दगीको उत्तराद्र्धमा पशुपतिनाथको नजिकै आएर बसेका छन् । कोही लठ्ठी टेकेर हिँड्दै गरेका, कोही बत्ती कात्दै गरेका, कोही भाँडाकुँडा बोकेर हिँड्दै गरेका, कोही कपडा च्यापेर हिँड्दै गरेका देखिन्छन् । कोही हाँसिरहेका भेटिन्छन् त कोही  रोइरहेका । एक्लै फतफताउँदै हिँडिरहेका भेटिन्छन् कोही ।  

उनीहरूको जिन्दगीले देख्नेजति देखिसक्यो । भोग्नेजति भोगिसक्यो । सहनेजति सहिसक्यो । यसै गरेर जिन्दगीका अन्तिम दिनहरू गुजार्दै छन्, पशुपति वृद्धाश्रमका वृद्धवृद्धाहरू । कोही गुमाएर आए । कोही हुँदाहुँदैको छाडेर । वरिपरि आफूजस्तै दौँतरी छन्, तैपनि जिन्दगी एक्लो छ । शून्य छ । त्यसैले त जोसुकै देखे पनि आफ्नो वेदनाको पोको फुकाउन थाल्दछन् । मनका बह पोख्न खोज्छन् । 

विसं १९७२ माघ १२ गते जन्मेका  लक्ष्मीप्रसाद परिवारका कान्छा छोरा हुन् । सुस्तरी बोल्छन् । कुराकानीका बीचबीचमा  श्रीराम ! भन्छन् । किसान थिए, उनी । दुई छोरा छन् । छोरी छैनन् । श्रीमतीले १९ वर्षअघि ७६ वर्षकोे उमेरमा छाडेर गइन् । जिन्दगीको सहारा टुटेपछि उनी विरक्तिए । परिवारमा जो–जो भए पनि श्रीमान्–श्रीमती भएजस्तो नहुने रहेछ । उनले भने, ‘श्रीमतीले छाडेर गएपछि मलाई जिन्दगीदेखि नै विरक्त लाग्यो । श्रीमती भएजस्तो अरू नहुने रहेछ,’ उनले थपे । जिन्दगीलाई कहिले मीठो गरी बुझ्ने, कहिले नमीठो गरी बुझेको आभास दिने लक्ष्मीप्रसाद अधिकारीले काठमाडौंमा नै घर भएर पनि वृद्धाश्रमसम्म आइपुगेको घटनाको पोयो फुकाउँदै गए । कहिले हाँस्दै पोयो फुकाए, कहिले गहभरि आँसु बनाउँदै । 

पहिलेदेखि नै उनी धर्मकर्ममाथि विश्वास गर्थे । साधुसन्त भनेपछि हुरुक्कै हुने रहेछन् । ‘साधुसन्तसँगै घरबाट देवघाटतर्फ लागेँ,’ उनी भन्छन्, ‘घरमा बस्न मन लागेन । बाँसबारी घरबाट विरक्तिएर देवघाट गएँ ।’ गर्मी छिचोलेरै त्यहाँ १४–१५ वर्ष बसे । शरीर दिन–प्रतिदिन कमजोर हुँदै गयो । गर्मीले गर्दा उनको शरीरमा पानीका फोका देखिन थाले । त्यसपछि उनले देवघाट छाडे । पशुपति वृद्धाश्रममा आए । 

जेठो छोरा जापानमा छन् । कान्छा छोरा अमेरिकामा । सबै परिवार उतै छन् । नाति, पनातिसम्म भइसकेका छन् । तर, लक्ष्मीप्रसादलाई जापान बस्न मन लाग्दैन । अमेरिकामा बस्न मन लाग्दैन । छोराहरू नेपाल आएको बेलामा उनलाई भेट्न वृद्धाश्रम नै आउने गर्छन् । नातिनीहरू आउँछन् । घरमा जाऊँ भन्छन् । उनी जान्छन् । उनी भन्छन्, ‘उनीहरू छउन्जेल घरमा बस्छु । नभए बस्दिनँ । एक्लै पकाएर खान सक्दिनँ ।’

छोराहरू जापान, अमेरिका उडेर जान्छन् । उनी भने लठ्ठी टेकेर वृद्धाश्रम आउँछन् । सुनाए, ‘छोराहरूले घरमा बस भन्छन् । रेखदेख गर्ने मान्छे पनि राखिदिएका थिए । तर, रक्षक नै भक्षक भयो । उनले थपे, ‘लाटलुट पारेर गएछ । त्यसपछि घरमा बस्न मन लागेन । घर त्यत्तिकै छ । म यहाँ छु ।’ 

पशुपति वृद्धाश्रम चारपटक खाना खान दिन्छन् । खानेवेला भएपछि घन्टी बज्छ । सबैजना उठेर आ–आफ्ना थाल–कचौरा लिएर तयार हुन्छन् । अधिकारी वृद्धाश्रमको नियम पछ्याउँछन्, सधैँ । बिहान र दिउँसो चिया–बिस्कुट खाजा दिन्छन् । बिहान–बेलुका खाना । 

लक्ष्मीप्रसादले देवघाटमा हुँदा एक छाक जाउलो खान पाउँथे । खान सजिलो हुन्थ्यो । पशुपतिमा भात नै दिन्छन् । उनलाई भात निल्न असजिलो हुन्छ । गला लाग्छ । क्याप्प हुन्छ । त्यसैले उनी तरकारी र दाल मात्रै खान्छन् । यही पनि पिरो भए खाँदैनन् । कहिलेकाहीँ दाताले दिए दूध पिउन पाउँछन् । 

धनसम्पत्ति उसै छ । छोराहरू जापान र अमेरिकामा । उनी भने वृद्धाश्रममा । जहाँ भए पनि उनले जिन्दगीमा दुःखको अनुभूति भने गरेनन् । भन्छन्, ‘मैले जिन्दगीमा दुःख भोगिन ।’ आफैंले दुःख गरेर, कमाएर खान परेको छैन, के दुःख भन्नु ?’, उनले प्रश्न गरे । 

वृद्धाश्रममा उनीजस्तै धेरै दौँतरी भए पनि उनीहरूलाई लक्ष्मीप्रसाद साथी मान्दैनन् । उनको बुझाइमा साथी भनेका लुट्ने, पिट्ने, नोक्सानी पार्ने मात्रै रहेछन् ।  
आफ्नो साथी मनभित्रै रहेको भन्दै उनले भने, ‘बाहिरका साथी के काम ? लुट्ने, पिट्ने, नोक्सानी गर्ने मात्रै रहेछन्, बाहिरका साथी ।’ 

हँसिलो मुहार, मन्द मुस्कानका साथ उनी बोल्दै गए । घाम मलीन हुँदै गएपछि भित्र गए । साँघुरो कोठा । कुनामा सुत्ने ठाउँ । ढोकाको सँघारमै उनीजस्तै अर्का वृद्धको ओछ्यान छ । अधिकारी सुत्ने सिरानपट्टी शिव, राम आदि भगवान्का फोटा छन्, दैनिक पूजा गर्छन् । श्रीमद्भागवत, शिवपुराण, अग्निपुराणका किताब पनि छन् । बिहान बेलुका ती किताब पढ्दै पूजा गर्छन् । 

फर्केर हेर्दा उनलाई जिन्दगीप्रति कुनै गुनासो छैन । भगवानमाथि ज्यादै नै विश्वास छ । भगवान् भएसम्म आनन्द हुने बताउँदै भन्छन्, ‘मलाई जीवनप्रति कुनै गुनासो छैन । भगवान् छउन्जेल आनन्द छ ।’ इष्टमित्र भन्नु नै भगवान् हुन् । उनी थप्दै गए, दाजुभाइ भन्नु नै भगवान् हुन् । मर्नु त अवश्य छ । न अहिले हो, न भरे हो न वर्षदिन पछि हो, थाहा छैन । जिन्दगीको भर छैन कहिले मर्ने हो...! 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्