मेरो जन्म मणिपुरको एक सानो गाउँमा भएको हो । मेरा बाबा किसान हुनुहुन्थ्यो । खेतबारीको कामबाट हाम्रो गुजारा चल्थ्यो । म घरको जेठी सन्तान हुँ । घरको जेठो सन्तान भएर बुझ्झकी हनु त कहाँ हो कहाँ म उल्टै कडा थिएँ । निकै नै रिसालु र छुच्ची । म अधिकांश समय केटासँग खेलेर बिताउँथे । त्यतिबेलासम्म हाम्रो गाउँमा केटीहरू खेल्थेनन् । उनीहरूलाई खेलकुदबारे न कुनै ज्ञान थियो न त रुचि नै ।
केटाहरूमा भने खेलकुदको ज्ञान थियो, कमसेकम उनीहरूलाई फुटबल खेल्न आउँथ्यो । म पनि उनीहरूसँगै फुटबल खेल्थेँ । त्यतिबेलाको उमेर र समय नै त्यस्तै थियो कि एक–अर्काको मजाक गर्यो भने ठूलै झगडा हुन्थ्यो । खेलमा मात्रै होइन, म लडाइँमा पनि केटाहरूलाई टक्कर दिन्थेँ । केही भइहाल्यो भने सीधै भिड्न अघि सरिहाल्थेँ । यसका अलावा रूख चढ्न पनि मलाई खुबै रमाइलो लाग्थ्यो । रूखमा चढेर फलफूल टिप्न म हुरुक्कै हुन्थेँ ।
मेरो पूरै बालापनका अधिकांश समय केटाहरूसँग खेल खेलेर, उनीहरूसँग हाँँसो ठट्टा, मोज मस्ती गरेर नै बित्यो । तर, केटाहरूसँग रमाइलो र मोजमस्ती मात्रै भएन, लडाइँ–झगडा पनि उत्तिकै भयो । यसरी झगडा हुँदा कैयौँपल्ट घरमा पनि त्यो कुरा पुग्यो । झगडाको कुरा घरसम्म पुग्दा खुब गाली खाइन्थ्यो । घरमा गाली झगडाको कुरा पुग्दा मात्रै खाइँदैनथ्यो, बेलैमा घर नपुग्दा पनि गाली खानुपर्थ्यो । साँझ झमक्क नपर्दासम्म खेल्ने मेरो बानी थियो । त्यसकारण आमाको हातबाट धेरै पिटाइ खाएँ । घरको काममा आमा–बालाई पनि सघाउँथे ।
बाबा त दिनभर खेतैमै व्यस्त हुनुहुन्थ्यो । उहाँलाई मेरो बदमासी र दिनभर खेल्न हराउने कुराबारे चाल हुँदैनथ्यो । आमा भने दिनभर घरमै बस्ने । कहिलेकाहीँ छिमेकीसँग किनमेल गर्न जाँदाबाहेक उहाँ अधिकांश समय घरमै बस्नुहुन्थ्यो । त्यसकारण आमालाई मेरो बदमासी र कर्तुतबारे थाहा हुन्थ्यो । मैले कहीँ काम बिगारेँ भने उहाँसम्म पुगिहाल्थ्यो ।
त्यसताका पनि हाम्रो गाउँका पसलमा चकलेट, क्यान्डी, मिठाईजस्ता स्वादिला चिज पाइन्थे । तर, ती हाम्रो लागि थिएनन्, हाम्रो आर्थिक स्थिति साह्रै नाजुक थियो । बाल्यकालमा एकाधपटक बाहेक ती कुरा खाएको सम्झना छैन ।
गाउँमा हामी फुटबल खेल्थ्यौँ । रेस गर्थ्याैं। पछि गएर बक्सिङमा पनि रुचि बढ्दै गयो । स्कुलमा म चकचक नगरी बस्ने कोसिस गर्थें, तर मेरो दिमागमा खेल्नबाहेक अरू केही कुरा हुँदैनथ्यो । स्कुलमा ‘स्पोर्टस् विक’ हुँदा मेरो नाम सबैभन्दा माथि हुन्थ्यो । फुटबलसँगसँगै म भलिबल, एथलेटिक्स पनि राम्रो खेल्थेँ । म जुन टिममा हुन्थेँ, त्यो टिमको जित निश्चित हुन्थ्यो । मलाई आफ्नो टिममा राख्न सबै लागि पर्थे । मलाई आफ्नो टिममा राख्न टिमटिमबीच प्रतिस्पर्धा नै हुन्थ्यो । त्यसैकारण हरेक शिक्षकको आँखा ममाथि हुन्थ्यो । टिममा सँगसँगै एकल खेलमा पनि मैले धेरै मेडल जितेकी छु ।
बिस्तारै–बिस्तारै जब धेरै समय खेलमा खर्च हुन थाल्यो मेरो पढाइ बिग्रँदै जान थाल्यो । पढाइ कमजोर हुँदै गए पनि शिक्षकहरूले मलाई खेल खेल्न प्रेरित गर्नुभयो । यति मात्र होइन, उहाँहरूले त पूर्ण रूपमै खेलकुदमै लाग्न सल्लाह दिनुभयो । उहाँहरूले मलाई राम्रो एकेडेमीमा भर्ना हुन सहयोग गर्छु भनेर आश्वासन पनि दिनुभयो । उहाँहरूको धारणा थियो कि स्कुलमा राम्रो ट्रेनिङको सुविधा छैन त्यसैले गाउँबाट सहर गएर राम्रो एकेडेमीमा भर्ना हुनुपर्छ ।
उहाँहरूको सुझाब सुझाबमै सीमित भयो । कसैको सहयोग प्राप्त भएन । बाआमा अशिक्षित । गाउँका अन्य मान्छेलाई राम्रो खेल्छु भनेर त थाहा थियो, तर कहाँ जानु कुन बाटो हिँड्ने, मलाई बाटो देखाउने कोही भएन । सहयोग त परकै कुरा हो, केटीले खेलकुदमा लाग्नुहुँदैन भनेर कुरा काट्ने र बिरोध गर्नेहरू धेरै थिए ।
तर, पनि शिक्षकहरूले बारम्बार सम्झाएपछि इम्फालमा स्पोर्टस् एकेडेमी भर्ना हुने निर्णय गरेँ । त्यो एकेडेमी अथोरिटी अफ इन्डियाको केन्द्र थियो । मलाई लाग्यो कि त्यहाँ गएर सिक्ने मौका पाएँ भने धेरै कुरा गर्न सक्नेछु । इम्फालमा एकजना नातेदार हुनुहुन्थ्यो । उनीकहाँ गएँ । उनैकहाँ बसेर ट्रेनिङ सुरु गरे । सुरुमा एथलेटिक्सको ट्रेनिङ लिएँ ।
ट्रेनिङ बेलुकीपख हुन्थ्यो । त्यहाँ केटा र केटी दुवै ट्रेनिङ गर्थे । बक्सिङको ट्रेनिङमा केटाहरूसँगै केटीहरू पनि अभ्यास गरिरहेको देख्दा मलाई निकै जोस बढ्यो । मलाई भित्रैदेखि लाग्यो, यी केटीहरू गर्न सक्छन् भने म किन गर्न सक्दिन ? आफूलाई प्रश्न गरेँ ।
बक्सिङबारे मैले घरमा केही बताइनँ । म कोचकहाँ गए र सोधेँ– म पनि बक्सिङ गर्न सक्छु ? कोचले मेरो उत्साह देखे । उनले यो पनि बुझे कि म भित्र बक्सिङप्रति धेरै उत्साह छ । उनले पनि ‘आके’ भने । यसरी अर्काे दिनबाट इम्फालमा मेरो बक्सिङको ट्रेनिङ सुरु भयो । र, त्यसै दिनबाट मेरो बक्सिङ जर्नी सुरु भयो ।
(लाइभ हिन्दुस्तान डटकममा प्रकाशित भएको ब्लगको अनुवाद)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।