आजदेखि एसइई, १९६९ केन्द्रमा केहीबेरमा परीक्षा सुरु हुँदै

काठमाडौं– भक्तपुर– १० कक्षाको अन्तिम परीक्षा एसइई अहिले ८ बजेदेखि सुरु हुँदै छ । 

परीक्षाका लागि अधिकांश परीक्षर्थी आ–आफ्ना केन्द्रमा पुगिसकेका छन् । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइईमा देशभरबाट नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका गरी ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । यीमध्ये २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । 

यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार परीक्षा सञ्चालन हुनेछ । परीक्षामा सबैभन्दा बढी प्रदेश ३ बाट १ लाख ६०२ परीक्षार्थी सहभागी हुँदै छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी छन् ।

त्यस्तै, प्रदेश १ बाट ८३ हजार ८१८, प्रदेश २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी एसइईमा सहभागी हुँदै छन् । 

देशभर १ हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने १ हजार ९६९ केन्द्राध्यक्ष, ३ हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुँदै छन् ।

पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्दै छ । व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भए पनि प्रदेशले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भन्दै त्यसको जिम्मेवारी भने बोर्डले लिएको छ ।



परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । 

प्रदेशअनुसार छुट्टाछ्ट्टै प्रश्नपत्र छापिएको छ । साधारणतर्फको अनिवार्य ६ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको हो । तर, प्राविधिक तथा संस्कृततर्फ भने सबै प्रदेशमा एउटै प्रश्नपत्र पठाइएको छ ।



  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार ७:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया