वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको आरोप लगाएका छन् ।
रामेछापको मन्थलीमा बुधबार वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाटमा उनले संविधानको साझा अधिकारको सूचीमा रहेका अधिकार अहिले पनि प्रदेश सरकारले कार्यान्वयन गर्न नपाएको गुनासो गरे ।
केन्द्र सरकारले कानुन नबनाइदिँदा र बनेकै कानुन पनि कार्यान्वयन नगरिदिँदा प्रदेश सरकार निकम्मा बन्दै गएको उनको भनाइ थियो । ‘हामीले हाम्रो अधिकार पाइरहेका छैनौँ । बोर्ड टाँसेर मात्रै बस्नुपरेको छ,’ उनले भने ।
जनताको संघीयताप्रति वितृष्णा जागिरहेको बेला संघीयताको ठिकसँग कार्यान्वयन नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । यसले गर्दा जनतालाई संघीयताको प्रत्याभूति दिन नसकेको उनले बताए ।
प्रदेशको आवश्यकता र औचित्यमाथि उठेका प्रश्नलाई पुष्टि गराउन एकखालको घृणा फैलाउने काम भइरहेको बेला संघीय सरकारको गतिविधि पनि त्यस्तै भएको उनले आरोप लगाए । ‘एकातिर धमिलो पानीमा माछा मार्ने शक्ति आइरहेका छन्, अर्कातिर संघीय सरकारले त्यसको लागि स्पेस दिइरहेको छ,’ उनले भने ।
प्रदेशहरूले संघसँग भिख मागेको नभई संविधानले दिएको अधिकार माग गरेको उनले स्पष्ट पारे । अहिले संघीय सरकारले प्रदेश सरकारलाई हात–गोडा बाँधेर दौडमा होमेको उनले टिप्पणी गरे ।
राजनीतिक नेतृत्वको इच्छाशक्ति संघीयता कार्यान्वयन गर्ने तर्फ नदेखिएको पनि उनले बताए । प्रदेशलाई अधिकार नदिँदासम्म व्यवस्था र संघीयताको रक्षा हुन नसक्ने उनले दाबी गरे । संघीय सरकारको कामले घृणा फैलाउनेलाई नै सहयोग पुग्ने उनले बताए ।
प्रदेशलाई संविधान र कानुनले गरेको व्यवस्थाअनुसार प्रहरी हस्तान्तरण गर्न पटक–पटक आग्रह गरिएको भए पनि केन्द्र सरकारले त्यसमा ध्यान नदिएको उनले गुनासो गरे ।
सो विषयमा हालै मात्र सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको भए पनि त्यसको कार्यान्वयन गर्ने छाँट नदेखिएको भन्दै उनले आलोचना गरे । ‘त्यो ध्यानाकर्षण पत्र पनि प्रदेशका मन्त्रीहरूको काठमाडौं भ्रमण मात्रै जस्तो भयो, यसरी संघीयता सफल हुँदैन,’ उनले भने ।
संघीयतामाथि प्रश्न उठे पनि नेपालमा पुनः राजतन्त्र भने नफर्किने उनले दाबी गरे । ‘राजतन्त्र फर्काउने कुरा मनको लड्डु घिउसँग खानु मात्रै हो,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।